क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङको उम्मेदवारी,बुधबार चुनाव

१२ भदौ, काठमाडौं । माओवादी पार्टीकै इतिहासमा पहिलो पटक अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट चुनिँदैछ । कीर्तिपुरमा जारी २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा सोमबार उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
अध्यक्ष पदमा रञ्जित तामाङ ,अनिल शर्मा र मदन अर्यालको उम्मेदवारी दर्ता गरेका छन् । पार्टी र संगठनको इतिहासमै पहिलोपटक चुनाव हुन लागेको हो |
यसै गरी उपाध्यक्षमा सुरेन्द्र बस्नेत, विजय गौतम, दिपेश पुन, इन्द्र भुसाल,तिलकराज भण्डारी, विरेन्द्र बस्नेत, पुरन केसी, अमिताभ बचन दास र लक्ष्मी प्रधानको उम्मेदवारी परेको छ । यसैगरी रविकिरण यादव, सुनिता किराँतीपञ्चा सिंह, दिपक देवकोटा र पौरख विकले पनि उपाध्यक्ष पदमै उमेदवारी दिएका छन् ।
यसैगरी महासचिव पदमा खेमबहादुर सिंह, उत्तम अधिकारी र राजेश्वरी सुवेदीको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक मल्लले जानकारी दिए ।
उपमहासचिवमा तुकमान महरा, जीपी मैनाली, आरके जोशी लगायतको उम्मेदवारी परेको छ ।
आकांक्षीहरु धेरै भएपछि अध्यक्षका दाबेदारहरुले प्यानल समेत बनाउन सकेका छैनन् । आचारसंहिताले पनि प्यानल बनाउन बन्देज लगाएको छ । तर, पनि आन्तरिक रुपमा प्यानल बनाउन खोजेकाहरु पनि असफल भएका छन् ।उम्मेदवारहरुले स्वतःस्फूर्त रुपमा मनोनयन दर्ता गराएको २१ औं राष्ट्रिय सम्मेलन निर्वाचन समिति संयोजक रमेश मल्ललेले बताए ।
उम्मेदवारी दर्ता सकिएपछि अध्यक्षका उम्मेदवारहरुलाई बन्दसत्रमा १०-१० मिनेट बोल्ने समय दिइने छ । उम्मेदवारहरुले आफ्ना एजेण्डा राख्दै त्यहीँ भोट माग्नेछन् । पर्चा, पम्प्लेट, ब्यानर, वालपेन्टिङ लगायतमार्फत् चुनाव प्रचार गर्न तथा प्यानल बनाउन अखिल क्रान्तिकारीले बन्देज लगाएको छ ।
यही भदौ ७ गतेदेखि सुरु भएको सम्मेलन ११ गते सक्ने पूर्वनिर्धारित तालिका थियो । तर, नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुने भएपछि सम्मेलन पनि लम्बिँदै गएको छ । सम्मेलन लम्बिएसँगै आर्थिक भार पनि परेको अखिल क्रान्तिकारीले जनाएको छ ।
निर्वाचन समिति संयोजक मल्लले भने, ‘उम्मेदवारहरुको लाइन देख्दा भोलि मतदान गराउन सकिँदैन । सबै प्रक्रिया पूरा गर्दा पर्सि मतदान हुन्छ । सम्मेलन अझै एक दिन लम्बिने भयो ।’
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्षका प्रत्यासीहरुलाई सोमबार बिहान लाजिम्पाटमा बोलाएर स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए ।