देउवा र मोदीले स्वीचअन गर्दा नेपालमा १८० मेगावाट बिजुली थपियो, अब लोडसेडिङ नहुने

नयाँ दिल्ली, ८ भदौ– नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १ सय ८० मेगावाट विद्युत नेपाल लैजान दुई देशबीच अन्तरदेशीय प्रशारण लाइनको बिहीवार उद्घाटन भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार दिउँसो रिमोट मार्फत हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रशारण लाइनको उद्घाटन गरेका हुन् । ती दुई प्रशारण लाइन केही महिना पहिले निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा मुजफ्फरपुर–ढल्केवर प्रशारण लाइनको उद्घाटन भएको थियो । अहिले भारतबाट ३ सय ८० मेगावाट विद्युत नेपालले खरिद गरिरहेको छ ।
नेपालले यी प्रशारण लाइन मार्फत थप १ सय २० मेगावाट विद्युत खरिद गर्ने तयारी गरेको छ । भारतीय उर्जा मन्त्रालयले नेपालले चाहेमा थप १ सय ८० मेगावाट सम्म विद्युत नेपाललाई दिनसक्ने बताइसकेको छ ।