प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच आकस्मिक भेटवार्ता

भाद्र ७, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पूर्वनिर्धारित समयभन्दा एक दिन अघि बुधबार आकस्मिक भेटवार्ता गरेका छन् । मोदीसंगको भेटवार्ताका लागि उनी बुधबार दिउँसो साढे पाँच बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेशकोर्ष पुगेका थिए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार उक्त भेटवार्ता एक्ला एक्लै भएको थियो । भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटरमा प्रधानमन्त्री देउवालाई स्वागत गर्दै भोलीको (बिहीबार) बिस्तृत भेटवार्ताको प्रतिक्षामा रहेको उल्लेख गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री देउवाले बिहीबार ११ बजे भेटवार्ता गर्ने समय तय गरिएको थियो । बुधबार भएको भेटवार्तालाई बिहीबार हुने बार्ताको बिस्तृत वार्ताको लागि तयारी भेटघाटको रुपमा हेरिएको छ ।
प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमणका लागि बुधबार बिहान भारतर्फ प्रस्थान गरेका थिए ।