बाबुरामजीलाई अब साथ दिन सकिँदैन-देवेन्द्र पौडेल

नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलले बाबुराम भट्टराईले नयाँ ढंगले नसोचे उनलाई साथ दिन नसकिने बताएका छन् । केही समयदेखि परिवर्तनशील शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्ने बहस छेड्दै आइरहेका पौडेलले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता एजेन्डाहरुको स्वामित्व लिन चाहने शक्तिहरुबीच सके एकता नसके कार्यगत एकता गरेर अघि बढ्नु पर्ने बताए ।
अखबारसँगको संवादमा पौडेलले भट्टराई नेतृत्वको नयाँ शक्तिले गति लिन नसक्नुको कारण, बाबुराम भट्टराईका कमजोरी र उनको समूहको भावी योजनाबारे खुलेर कुराकानी गरे ।
पुरानो राजनीतिक दल काम लागेन, अब नयाँ सोच र संस्कारको राजनीतिक दल स्थापना गर्नुपर्छ भनेर नयाँ शक्ति पार्टी, नेपाल बनाउनु भयो । तर, त्यसको झन्डै दुई वर्षपछि जनयुद्धका धारहरु एकीकृत गर्नुपर्छ भनेर आउनु भएको छ । योबीचमा के भयो र नयाँ बहस छेड्दै हुनुहुन्छ ?
हामीले जनयुद्धका धारहरु मात्रै एकीकृत हुनुपर्छ भनेर भनेका छैनौं । जनयुद्धकालीन शक्तिहरुदेखि मधेस आन्दोलन, उत्पीडित वर्ग र पक्षको अधिकारका लागि लड्ने सबै पक्ष ध्रर्वीकृत भएर अघि बढ्नु पर्छ भनेका छौं । सबैले बुझिने भाषामा भन्दा पछिल्लो परिवर्तनको स्वामित्व लिएका सबै शक्ति एक भएर अघि बढ्नु पर्छ भन्ने मत हामीहरुको हो ।
नयाँ शक्ति बनाउने भनेर केही यात्रा पार गरिसकेपछि यस्तो आवश्यकता महससु चाहिँ किन भयो ?
नयाँ शक्ति अहिले पनि आवश्यक छ, यसको औचित्य सकिएको छैन । हामीले उत्पीडित वर्ग र समूदायलाई छाडेर अलौकिक हावादारी कल्पनामा रमाउनका लागि नयाँ शक्ति भनेका थिएनौं । तर, यसको बहस र गन्तव्य नै अन्यत्र मोडियो । पछिल्ला परिवर्तनकारी शक्तिहरुलाई आर्थिक संवृद्धि र सुशासनको एजेन्डासहित परिवर्तनको स्वामित्व लिँदै पुनः राजनीतिमा उपस्थित हुनेगरी नेतृत्व लिनोस् भनेर हामीले स्वयं बाबुरामजीलाई आग्रह गरेका छौं ।
बाबुराम भट्टराईसँग यो विषयमा कुरा गर्दा उहाँको प्रतिक्रिया कस्तो रहेको छ त ?
बाबुरामजीको व्यक्तिगत विरोध हामीले गरेका होइनौं । बाबुरामजीसँग असहमति बढेपछि छाड्न खोजे भनेर बाहिर आएको छ, यो पनि सत्य होइन । हाम्रो एउटै चिन्ता के हो भने बाबुरामजी राजनीतिको आईसोलुसनमा पर्दै जानु भयो । उहाँले नयाँ शक्ति बनाउने भनेकाले हामीले साथ दियौं, तर, शक्ति आर्जन नगरी राजनीतिमा स्थापित हुन सकिँदैन । शक्ति आर्जनका लागि जोसँग एजेन्डा मिल्छ उसँग मिल्नुपर्छ । संघीय समाजवादीसँग हाम्रा केही एजेन्डा मिलेका थिए । एकता गर्ने प्रयास पनि भएको थियो । तर, केही कुरामा असहमति हुँदा एकता हुन सकेन । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक सांसद् र आर्थिक संवृद्धिको कुरा उठाएको माओवादी केन्द्र छ । अरु परिवर्तनकारी शक्तिहरु पनि छन् । उनीहरुसँग आवश्यकताभन्दा बढी पूर्वाग्रह लिन हुँदैन भनेर हामीले भन्दै आइरहेका छौं । सानातिना सबै परिवर्तन पक्षधर पार्टीसँग सकिन्छ एकता गरौं, सकिँदैन चुनावी तालमेल गरेर जाऊ भन्ने राय हाम्रो छ । यसको नेतृत्व गर्न पनि हामीले बाबुरामलाई नै भनेका छौं । अहिलेको चुनावमा कांग्रेस, एमालेले स्थानीय तह चुनाव जिते, यदि हामी यसैगरी कुरा मात्रै गरेर बस्यौ भने पछि पर्दै जान्छौं ।
परिवर्तनकारी शक्तिहरुबीच एकता गरेर अघि बढौं भन्ने तपाईंहरुको प्रस्तावप्रति बाबुरामको धारणाचाहिँ के छ ?
बाबुरामजीको ‘५ स’को परिकल्पना पनि पूरा हुँदैन । र, राज्यका कुनै पनि तहमा उपस्थिति नजनाई अघि बढ्दा नयाँ शक्ति पार्टी एकेडेमिक बहस गर्ने थलोमा मात्रै सीमित हुन्छ, शक्ति आर्जनसहितको सार्थक नयाँ पार्टी बन्दैन । यो कुरा हामीले बाबुरामजीलाई भन्दा उहाँले अहिले बेला भएको छैन, यसबारेमा सोच्छु भन्नुभएके छ ।
कसैलाई रिस उठेको होला, त्यो अलग करा हो । तर माओवादी परिवर्तनकारी शक्ति हो । माओवादीमा भएको विद्रोही प्रवृत्तिले देश विकासको चुनौतीहरुको सम्बोधन गर्न सक्दैन भनेर हामीले विकल्प रोजेका हौं, बाबुरामलाई साथ दिएका हौं । अहिले माओवादीले कमजोर भइयो, पार्टी भंग गर्छौं, परिवर्तनकारी शक्ति मिलौं भनिरहेकाले यसलाई पनि समेटेर अघि बढौं भनेका हौं ।
फोरमसँग प्राविधिक कारणले एकता हुन सकेन भन्नु भयो । त्यो प्राविधिक कारण भनेको के हो ?
पहिलो त नाममा नै कुरा मिल्न सकेन । सघीय र फोरम नेपाल भन्ने शब्दमा अन्तिमसम्म अडान लिनुभयो । नयाँ समाजवादी पार्टी फोरम , नयाँ समाजवादी पार्टी जस्ता अप्सनमा जाऊ र नयाँपन दिऊ भन्ने हाम्रो धारणा थियो । नेतृत्वमा उहाँहरुले बाबुरामजीलाई मान्नुभएको थियो । १ नम्बर नेता बाबुराम, २ नम्बर उपेन्द्र र ३ नम्बर अशोक राईलाई मान्ने सहमति बनेको थियो । बाबुरामलाई के भनेर सम्बोधन भन्ने कुरामा भने विवाद भएको थियो । तर, अन्तिममा कुरा मिलेन र हुनै लागेको एकता पनि टर्यो ।
बाबुरामसँग लामो राजनीतिक संगत गर्ने कमै नेतामध्ये तपाईं पनि पर्नुहुन्छ । बाबुरामबारे तपाईंको बुझाई के हो ?
उमेरको हिसाबले बाबुरामजी मभन्दा ८–१० वर्षले जेठो हुनुहुन्छ । उहाँसँग मैले निरन्तर ३७ वर्ष राजनीतिक सहकार्य गरेँ । तर, यो लामो सहकार्यमा उहाँले राखेको प्रस्तावको विरोध कहिल्यै गरेको छैन । सम्भवतः यति लामो समयसम्म एउटै पार्टीमा सहकार्य गर्ने साथीहरु कमै होलान् । अझै पनि म उहाँकै नेतृत्वमा अघि बढ्न चाहन्छु । तर, नयाँ शक्ति साच्चै नयाँ हुनुपर्यो, वैकल्पिक पनि हुनुपर्यो । यतिले मात्रै भएन यसले शक्ति हासिल गर्ने ल्याकत पनि राख्नुपर्यो ।
हामीले समस्या मात्रै देखाएको छैनौं, उपाय पनि सुझाएका छौं । फास्ट ट्याकको बाटो अपनाएर अघि बढ्न भनेका छौं । राजनीतिक शक्तिहरुसँग सम्भव भएसम्म एकता गर्ने, नभए सहकार्य गरेर अघि बढौं भनेका छौं । पाँच वर्षपछिको चुनावमा २०–२५ सिट हात पारेर तेस्रो नभए चौथो हुने गरी अघि बढौं र त्यसपछिको चुनावमा पहिलो या दोस्रो शक्ति बन्ने गरी जाऊ भन्ने प्रस्ताव मलगायत साथीको छ । परिवर्तनकारी शक्तिहरुसँग पूर्वाग्रह नराखी छलफल गरौं भनेर हामीले बाबुरामजीलाई प्रस्ताव नै गरिसकेका छौं । आशा छ, उहाँ अब यसबारेमा सोच्दै हुनुहोला ।
बाबुरामजीले अब पनि सोच्नु भएन भने तपाईंहरु के गर्नु हुन्छ भनेर धेरै साथीहरुले सोध्नु हुन्छ । मेरो प्रष्ट जवाफ छ, बाबुरामजीले आफ्नो सोचाइमा पुनर्विचार नगरेर एक्लै हिँड्छु भन्न थाल्नुभयो भने उहाँलाई नै घाटा हुन्छ, राष्ट्रिय राजनीतिबाट उहाँ आईसुलेसनमा पर्नुहुनेछ । कुनै पनि एजेन्डामा उहाँको स्वामित्व, लेगेसी र भूमिका आउँदा दिनमा समाप्त भएर जानेछ । हिजो चीनका उपप्रधानमन्त्री आए, उहाँको भूमिका छैन, भोलि भारतका आउलान् उहाँको भूमिका रहँदैन । पर्सी संविधान संशोधनको कुरा आउला, त्यहाँ पनि भूमिका रहने छैन । निकोर्सी संसद्मा हाम्रो प्रतिनिधित्व भएन भने राष्ट्रिय राजनीतिमा उहाँको कुनै भूमिका रहँदैन । अहिले बाबुरामजीसँग ठ्याक्कै छलफल चलेको नै यहीँनिर हो ।
उहाँले मान्नु भएन भने तपाईंहरु माओवादीमै फर्कंनु हुन्छ कि अरु केही विकल्पबारे सोच्नु भएको छ ?
हामीले माओवादीमै फर्कने भनेका छैनौं, वृहत ध्रवीकरणका कुरा गरिरहेका छौं । माओवादी वृहत ध्रवीकरणको पक्षमा उभियो भने उसैसँग हाम्रो एकता हुन सक्छ ।
छलफल निकै अघि बढिसकेको अवस्था हो कि, भर्खंर सुरु गर्दै हुनुहुन्छ ?
नयाँ शक्तिभित्र फरक मत राख्नुअघि यो विषयमा बहस गर्न अप्ठ्यारो थियो । अहिले फरक मत नै राखेर बहस छेडिसकेको अवस्थामा यो विषयलाई अघि बढाउन सहज भएको छ । बाबुरामजीलाई भेटेरै हामीले यसबारे जानकारी गराइसकेका छौं ।
माओवादीसँग भने २०७४ साउन ३१ गतेबाट मात्रै हामीले अनौपचारिक भेटघाट सुरु गरेका छौं । अबको केही दिनमै यो टुंगिने हाम्रो विश्वास छ ।
माओवादी छाडेर बाबुरामलाई साथ दिने खम्बामध्येको एक तपाईं पनि हुनुहुन्छ । तर, अहिले तपाईं नै परिवर्तनशील शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्छ भनेर पार्टीका ७५ प्रतिशत नेता कार्यकर्तालाई बहसमा तानिरहनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेजस्तै बाबुरामसँग माओवादी केन्द्रमा फर्कने र लेखक भएर बस्ने दुई विकल्पमात्रै बाँकी रहने अवस्था सिर्जना भएको हो ?
व्यक्तिगत टिप्पणी त म गर्न चाहन्नँ । मैले स्वयं बाबुरामजीलाई पनि राज्यको महत्त्वपूर्ण भूमिकामा रहेकाको बारेमा व्यक्तिगत टिप्पणी नगर्नुस्, तपाईंको व्यक्तित्वले त्यो दिँदैन भन्दै आइरहेको छु । तर, उहाँले मान्नु भएन, सामाजिक सञ्जालमा निरन्तर नकारात्मक टिप्पणी गरिरहनु भयो । व्यक्तिगत रुपमा भन्नु हुन्छ भने बाबुरामजीको यो कार्यबाट म निकै दुःखी छु । दुःखी यसअर्थमा छु कि बाबुरामजीबाट आमजनताले नकारात्मक टिप्पणीको अपेक्षा नै गरेका थिएनन् । बाबुरामजीले सबै शक्ति बहसमा ओर्लने गरी बहस उठाउन् भन्ने हामीले चाहेका थियौं । अहिले पनि हामीले बाबुरामजीबाट यही अपेक्षा गरेका छौं । उहाँलाई व्यक्तिगत रुपमा सहयोग गर्न हामी तयार छौं । तर, परिवर्तनकारी शक्तिसँग पूर्वाग्रह राखेर उहाँले मेरो गोरुको बाह्रै टक्का भनेजस्तो गर्नु भयो भने कसैको निम्ति पनि त्यो हितकर हुँदैन । आईसोलुसनमा परे पनि म १० वर्ष एक्लै हिँड्छु भनेर उहाँले भन्नु हुन्छ भने म यहीँबाट भन्ने चाहन्छु – सरी म तपाईंलाई साथ दिन सक्दिनँ । राजनीतिले कार्यनीति, रणनीति, विभिन्न पक्षसँग सहकार्यको माग गर्छ, राज्यका विभिन्न निकायमा उपस्थितिको माग गर्छ । राज्यमा हाम्रो भूमिका पनि नहुने चुनावी तालमेल गर्न पनि नसक्ने , आत्मरतिमा रमाएर एकेडेमिक बसहमा मात्रै रमाउने हो भने २५ वर्षमा देशलाई आर्थिक संवृद्धि दिन्छु भनेर गरिएको वचनबद्धता हावादारी गफबाहेक अरु केही पनि हुँदैन । त्यसकारण उहाँले भन्नुभएको कुरा र शक्ति आर्जन गर्ने कुराको संगति मिलाउन हामीले यो बहस उठाएका हौं ।
संविधानसभामा रहँदा बाबुराम भट्टराई विवाद समाधान समितिको सभापति हुनुहुन्थ्यो । उहाँले त्यो समितिमा रहेर संविधान जारी गर्न अथक प्रयास पनि गर्नुभयो । तर, संविधान जारी भएपछि आफैंले त्यसलाई धारे हात लगाएर भन्नु भयो – यो संविधान अपूर्ण छ । भट्टराईले यसकै मूल्य त अहिले चुकाइरहनु भएको छैन ?
भर्खर आएका नयाँ साथीले यसमा स्वामित्व नलिन सुहाउँछ, तर बाबुरामजीलगायत हिजोका आन्दोलनमा सहभागी भएका व्यक्तिहरुलाई यस्तो भन्न छुट छैन । सफलताहरुको स्वामित्व अनि असफलता र अपूर्णताको समीक्षा नगर्ने हो भने त्यसको स्वामित्व अरु कसैले लिन्छ ।
एकांकीपन बाबुरामजीको पुरानै बानी हो । उहाँले माओवादी केन्द्र छाड्दा पनि हामीलाई सोध्नु भएन, एक्लै निर्णय गर्नुभयो । प्रधानमन्त्री हुँदा पनि प्रधानन्यायाधीशलाई सत्ता हस्तान्तरण गर्नुपर्छ भनेर जानु भयो । रातभरि सुतेर बिहान उठ्ने बित्तिकै उहाँले पार्टी छाड्नु भयो, तैपनि हामीले एक्लै छाड्नु हुँदैन भनेर साथ दियौं । उहाँलाई साथ दिँदै आएका धेरै साथीहरु त छुट्नुभयो । अस्तीमात्रै पनि बिरामी बाबुरामजीलाई भेटेर हामी साथीहरुले अलि फराकिलो ढंगले सोच्नुस् भनेका छौं । उहाँलाई म अहिले पनि सम्मान गर्छु । तर उहाँलाई केही व्यक्तिहरुले उक्साइरहेका छन्, यतिबेला । तिनैको उक्साहटमा परेर बाबुरामजी कतै राष्ट्रिय राजनीतिबाट आईसुलेसनमा पर्ने त होइन ? मलाई यतिबेला लागेको चिन्ता नै यही हो ।
कसैको उक्साहटमा बाबुरामजी अघि बढिरहनु भएको छ भन्नु भयो । बाबुरामजीलाई उक्साउने त्यस्तो शक्ति कुन हो ? बताइदिनुहोस् न !
म व्यक्तिविशेषको टिप्पणी गर्न त चाहन्नँ । तैपनि देखिएको सत्य भन्नै पर्छ । हिजोको आन्दोलनको स्वामित्व लिन नचाहने, त्यसलाई बकबास ठान्ने साथीहरु हाम्रो पार्टी नयाँ शक्तिमा हुनुहुन्छ । बाबुरामजीलाई यतिबेला तिनै साथीहरुले घेराबन्दी गरिरहनु भएको छ । तिनैको दबाबमा पर्दा बाबुरामजी राष्ट्रिय राजनीतिबाट किनारामा पर्दै जानु भएको छ ।
अर्को कुरा बाबुरामजीलाई हामीले माओवादीप्रति पूर्वाग्रह नराख्नुस्, सहिष्णु नबन्नुस् भनेका थियौं । आलोचनाका लागि नयाँ शक्ति पार्टी गठन नगरिएकाले कसैको पनि आलोचना नगर्ने भन्ने लिखत छ, नयाँ शक्तिको । परिवर्तनको आन्दोलनमा भूमिका खेलेका शक्तिहरुप्रति आभारी छौं भनेर मैले नै लेखेको हो पार्टीको डकुमेन्टमा । तर, कसरी अघि जाने भन्नेतिर ध्यान दिन छाडेर बाबुरामजी निरन्तर पछाडि फर्किरहनु भयो ।
आफूले भनेको कुरा सही, अरुले भनेको सबै गलत भनेर नेतृत्व गर्नेले भन्न हुँदैन । बाबुरामजीले अरुले भनेको कुरा पनि सुन्नु पर्छ । घिस्रिने भन्दा पनि गति लिने बाटो रोज्नुस् भनेर हामीले बाबुरामजीलाई भनेका छौं । उहाँले हामीले भनेजस्तो गर्नुभयो भने हामी उहाँलाई साथ दिन तयार छौं ।
मान्नु भएन भनेचाहिँ के गर्नु हुन्छ त ?
यदि उहाँ हामीले भनेको ध्रुवीकरण अभियानमा आउनु भएन भने बाबुरामजीलाई अब साथ दिन सकिँदैन । इतिहासको कडीमा उभ्भिएर हामीले विकल्प सोच्नु पर्ने बाध्यता हुनसक्छ ।
तपाईंले ध्रुवीकरणको कुरा गरिरहँदा कार्यकर्ता पंक्तिबाटै एउटा गुनासो आइरहेको छ । गुनासो छ – हिजो देशैभरिबाट साथ दिने कार्यकर्तालाई देवेन्द्रले यो बहसमा ल्याएनन्, उनी एक्लै अघि बढिरहेका छन् । के तपाईं हिजो साथ दिने आफ्ना कार्यकर्तालाई अलपत्र छाडेर अघि बढ्न लाग्नु भएको हो ?
व्यक्ति–व्यक्ति भेटेर यो बहसमा सहभागी गराउन सम्भव भएन । केही साथीहरु भावुक भएर रुनु पनि भएको छ । यसबाट म आफैं दुःखित छु । म तपाईंहरुकै माध्यमबाट उहाँहरुलाई यो बहसमा सहभागी हुन हार्दिकतापूर्वक अपिल गर्न चाहन्छु ।
म यहाँ अर्को कुरा पनि गर्न चाहन्छु । माओवादी पृष्ठभूमिबाट आएका साथीहरु नयाँ शक्ति बनाउने भनेर लाग्दा निकै अपमानित हुनुभएको छ । यथास्थितिवाद र प्रतिगमनको बाटोमा रहेकाले माओवादी पृष्ठभूमिबाट आएकाबारे टिप्पणी गर्दा मैले अपमान महसुस गरेको छु । त्यसैले म साथीहरुलाई यही तरिकाले अघि बढ्दा नयाँ शक्ति गफ गर्ने थलो मात्रै बन्ने भएकाले फरक ढंगले सोचेर यो अभियानमा सहभागी बन्न अपिल गर्न चाहन्छु । म सबै साथीहरुलाई सम्पूर्ण सुरक्षाको जिम्मा लिने दृढता समेत व्यक्त गर्न चाहन्छु ।
तपाईंले विप्लवदेखि वैद्यसम्मलाई ध्रवीकरणका लागि आह्वान गर्नु भएको छ । यी सबै शक्ति मिलेर माओवादी नै नयाँ शक्ति बन्न चाहिँ सक्छ कि सक्दैन ?
पछिल्ला परिवर्तनका एजेन्डा प्राप्तिमा योगदान दिएकालाई एकताबद्ध नगरी नयाँ शक्ति बन्दैन । त्यसैले नयाँ शक्ति बन्न माओवादीधाराका र यसभन्दा बाहिरका सबै परिवर्तनकारी शक्तिहरु एक हुन जरुरी छ । @ अखबरदैनिक |