बाढीपीडितको लागि चीनले नेपाललाई १० लाख डलर,भारतबाट खै त सहयोग ?

काठमाडौं, १ भदौ — बाढीपीडितको सहयोगार्थ चीनले नेपाललाई १० लाख डलर दिने घोषणा गरेको छ । मंगलवार चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि यो सहयोगको घोषणा गरेका हुन् ।
वाङले यो घोषणा दुवै देशका उपप्रधानमन्त्री स्तरको बैठकमा गरेका हुन् । चीन र नेपाल नजिकिँदै जाँदा भारत चिन्तित हुनुपर्छ त ?
यस विषयमा बीबीसी संवाददाता मोहम्मद शाहिदले काठमाडौंस्थित वरिष्ठ पत्रकार युवराज घिमिरेसँग कुराकानी गरेका छन् ।
युवराज घिमिरे भन्छन् : नेपालमा यसपालिको बाढीले भयानक क्षति ग–यो । विगत २१ वर्षमा यति ठूलो बाढी आएको थिएन । यसबाट कमसेकम १२० जनाको ज्यान गइसकेको छ । यही बाढीका कारण चीनका उपप्रधानमन्त्रीले १० लाख डलर तत्कालै घोषणा गरेको हो ।
दुई वर्षअघि नेपालमा आएको भूकम्पमा पनि चीनले मद्दत गरेको थियो । त्यतिखेर भारतबाट पनि सहयोग आएको थियो ।
चीनको सहायताका सम्बन्धमा भारतले आधिकारिक प्रतिक्रिया दिएको छैन । नेपालको तराई क्षेत्रमा भारतले एकतर्फी बाँध बनाएका कारण बाढी आउने गरेको छ । यिनै बाँधका कारण तराई इलाका बाढीमा डुबेको हो ।
बाँधहरूका कारण मानवजीवनका अतिरिक्त अन्य धेरै कुरा प्रभावित भएका छन् । यस विषयमा भारतविरुद्ध नेपालमा क्रोध छ किनकि भारतले अनधिकृत रूपमा बाँध बनाएको हो ।
यस्तो अवस्थामा चीनले मद्दत गर्दा एउटा मनोवैज्ञानिक सन्देश जान्छ । भारत र चीनबीच सीमा विवाद हुँदा भारतप्रति नकारात्मक प्रतिक्रिया आउन सक्छ ।
भारतले भूकम्पपछि नेपाललाई मद्दत गर्दा नेपालीहरूमा सकारात्मक रवैया आएको थियो । त्यतिखेर चीनबाट पनि सहायता आएको हो ।
तर भारतले आर्थिक नाकाबन्दी लगाएपछि भने भारतसँगको सम्बन्ध बिग्रिएको थियो । त्यतिखेर नेपालमा भारतविरोधी भावना चरममा पुगेको थियो । भारतका तर्फबाट कुनै बलियो पहल भएमा मात्र स्थितिमा सुधार सम्भव छ ।
@ बीबीसी हिन्दी