प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैदिन मंसिर ४ गते गर्ने तयारी

काठमाडौं, १ भदौ— आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी भएको छ । आज साँझ प्रमुख दलका नेताहरु र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा दुबै चुनाव एकै चरणमा गर्ने समझदारी भएको बताइएको छ ।
यसअघि आयोगले दुबै चुनाव एकै चरणमा गर्न नसकिने बताउँदै आएपछि आजको छलफलमा यस्तो समझदारी भएको हो । नेताहरुका अनुसार शनिबार चुनावको मिति घोषणा गर्ने तयारी गरिएको छ । असार ७ मा प्रधानमन्त्री शेरबहादुर भारत भ्रमणमा जान लागेकाले सो अघि नै मिति घोषणा गर्ने गरी केहि दिनयता छलफलमा व्यस्त थिए । आगामी माघ ७ भित्र तीनै चरणको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अवस्था रहेकाले दलहरु दवावमा छन् ।
नेताहरुका अनुसार प्रदेश र प्रतिनिधि सभामा दुई वटा मतपत्र बनाउने समझदारी भएको छ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान हुनेछ भने अर्कोमा समानुपातिकतर्फ प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान गरिनेछ । तर एकै चरणमा गर्ने कि दुई चरणमा भन्नेमा भने समझदारी भएको छैन । यद्यपी अयोगले दुई चरणमा गरिनुपर्ने भनेको छ ।