नेपाल डुबाउने भारतीय बाँध,अब के गर्ने ?

श्रावण ३२, २०७४- हालैको भीषण वर्षा, बाढी र डुबानका कारण लाखौं जनताको जीवन अस्तव्यस्त र संकटग्रस्त बनेको छ । बाढी र डुबानको स्थिति आउने बर्षायाममा झनै विकराल हुनसक्ने खतरा छ । यो नेपाली जनताको लागि अत्यन्त चिन्ताको विषय हो । यस्तो स्थिति आउन नदिन सरकार र नेपाली जनताले एकताबद्ध भएर पाइला चाल्नु पर्दछ । जनताको रक्षा र देशको सुरक्षाका लागि सबैले एक भएर क्रियाशील हुनुपर्छ । समस्याको मूल कारणमा गएर समाधान खोज्नै पर्छ । यस सन्दर्भमा देशभित्रको पर्यावरणमा प्रतिकूल प्रभाव पार्नेगरी देशभित्र भइरहेका मानवीय गतिविधिहरु तथा दक्षिणी सीमावर्ती क्षेत्रमा छिमेकी भारतद्वारा बनाइएका बाँध र तटबन्धहरुको बारेमा राज्यका साथै नेपाली जनताले सरोकार राख्नु र समाधान खोज्नु आवश्यक छ ।
सीमावर्ती बाँधहरु: नदी र खोलाको पानीको वहावलाई नियन्त्रण तथा छेक्ने अभिप्रायले बनेको छेकबार र संरचना नै सामान्यतया बाँध हो ।
पक्की बाँधमा विभिन्न ढोका बनाइएका हुन्छन् र यस्ता ढोका बाढी आएको बेला सजिलैसंग पानीको निकासमा उपयोग गरिन्छन् ।
सामान्यतया सीमारेखाबाट ८ किलोमिटरको दूरीमा बनेको बाँधलाई सीमावर्ती बाँध भनिन्छ । यस्ता बाँध छिमेकी देशलाई प्रतिकूल असर पर्नेगरी बनाइएमा अन्तर्राष्ट्रिय मान्यता विपरीत बनाइएको ठहरिन्छ ।
उचाई अनुसार बाँध विभिन्न श्रेणीका हुन्छन् । सन् १९९८ मा गठित विश्व बाँध आयोगले सन् २००० दिएको प्रतिवेदन अनुसार छिमेकी देशलाई मर्का पर्नेगरी बाँध बनाउनु हुन्न र बाँधबाट प्राप्त लाभको उचित बाँडफाँड हुनुपर्छ ।
नेपालका २६ जिल्ला भारतको सीमानसँग जोडिएका छन् । नेपालमा साना, ठूला र मझौला गरी नदीनाला, खोलाखहरे र खोल्साखोल्सी छन् । करिब १५० नदीनाला नेपालबाट भारततर्फ बगेका छन् । यस्ता नदीनालाको गतिलाई भारतीय सीमावर्ती इलाकामा बाँध बनाई छेक्नाले नेपाली भू–भाग डुबानमा परी जलमग्न हुन थालेको छ । बाँधको दुबैतिर अग्लो तटबन्ध बनाउने र सीमानजिकै अग्लो संरचना बनाउँदामा नेपाली भूमि डुबानमा पर्नथालेको छ । यसबाट विशेषगरी तराई मधेशका जनता आक्रान्त हुनथालेका छन् ।
भारतले अन्तर्राष्ट्रिय कानून–हेलसिन्कि अभिसन्धि, जलसन्धि कानून, संयुक्त राष्ट्र संघीय कानून र मान्यता विपरीत सीमावर्ती इलाकामा विभिन्न स्थानमा बाँध बनाएको छ । परिणामस्वरुप मेची देखि महाकालीसम्म बर्षायाममा डुबानको गम्भीर समस्या सिर्जना हुनथालेको छ । कतिपय बाँध दशगजा क्षेत्रमा बनेका छन् । भारतले नेपालको सीमावर्ती क्षेत्रमा १८ वटा ब्यारेज, बाँध, तटबन्ध, तटबाँध, जोर्ती–बाँध, जलबन्धन, छाँद, ठोक्कर बनाउँदै नेपाललाई चेन ड्याम (बाँधको श्रृंखला) तटबन्धले घेर्न लागेको छ । यसबाट नदी र खोलाको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई करिब ६० स्थानमा डुबान क्षेत्र सिर्जना भएका छन् ।
भारतले बनाएका सीमावर्ती बाँध तथा तटबन्धहरु
१) बाँके जिल्ला : लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध
२) कपिलबस्तु जिल्ला: महलीसागर बाँध । सीमाबाट १० किलोमिटर दक्षिण र महसई नदी थुनिएको ।
३) रुपन्देही जिल्ला: रसियावाल–खुर्द–लोटन जोर्ती–तटबन्ध । लुम्बिनीदेखि ६ किलोमिटर दक्षिणमा निर्मित र दानव र डण्डा नदीको बहाव थुनिएको ।
४) कञ्चनपुर जिल्ला: टनकपुर बाँध । कञ्चनपुर जिल्लाको ब्रम्हदेवमण्डिबाट करिब ३.५ किलोमिटरमा महाकाली नदीमा निर्मित । नेपालतर्फको ९ हेक्टर जग्गा जलाशयमा परिणत ।
शारदा बाँध– महेन्द्रनगर बजारबाट ११ किलोमिटर पश्चिममा महाकाली नदीमा निर्मित । करिब २९२ रोपनी जग्गा सट्टा भर्ना नेपालले अझैं नपाएको । चाँदनी–दोधारा गाउँपालिकामा कटान हुनेगरेको ।
५) कैलाली जिल्ला: कैलाशपुरी बाँध वा गिर्जापुरी बाँध । साबिकको लालबोझी गा.वि.स. को कौवाखेडाबाट र बर्दिया जिल्लाको टपरा बाट १० किलोमिटर दक्षिणमा गेरुवा र घाघरा (मोहना र कर्णाली नदीको संगम) को संगमस्थलदेखि २ किलोमिटरमा निर्मित । यसबाट कैलाली र बर्दियाका कैयौं भूभाग डुबानमा पर्ने गरेको । कैलाली जिल्लाको लालबोझी दक्षिणमा केवल २० मिटरकै दूरीमा मोहना नदीको बहाव रोक्न तटबन्ध बनाइएको छ ।
६) दाङ जिल्ला: घोराही देखि करिब १४ किलोमिटर दक्षिण, नेपाल–भारत सीमास्तम्भ नं. ३७ देखि केवल २० मिटरको दूरीमा दाराखोलामा बाँध बनाइएको छ । यसबाट झण्डै ३००० नेपालीहरु प्रभावित हुन्छन् ।
७) रुपन्देही जिल्ला: सिद्धार्थनगर दक्षिण सीमास्तम्भ नं ५१९(२५) को ६ मिटर नजिक डन्डा –फरेना तटबन्ध बनाइएको छ । यसबाट डन्डा नदी र सुइयानालाको प्राकृतिक बहाव रोकिन गई नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।
८) नवलपरासी जिल्ला: नारायणी नदीमा बनाइएको यो बाँधबाट नेपाललाई कुनै लाभ छैन र भारततर्फ लगिएको पश्चिमी नहरको मुनिबाट निकास हुने खोलानाला तथा गण्डकी दनीको बाढीबाट निकासद्वारा पुरिएर नवलपरासीका एक दर्जनभन्दा बढी गाउँहरु डुबानमा पर्ने गरेका छन् ।
९) रौतहट जिल्ला: लालबकैया तटबन्ध दुबै देशतर्फ तटबबन्ध बनाउने भनिएपनि फाइदा जति भारतलाई पुग्ने किसिमले योजना बनाइएको छ । लालबकैया नदीको बाढीबाट गौर नगरका साथै कतिपय गाउँहरु डुबानमा पर्ने गरेका छन् ।
– रौतहट जिल्लाको सदरमुकाम गौरदेखि दक्षिण नेपाल–भारत सीमा दशगजाको समानान्तर बैरगनियाँ चक्र तटबन्ध बनाइएको छ । यसले गौर र आसपासको नेपाली भूभाग डुबानमा पार्ने गरेको छ ।
१०) नेपाल–भारत सीमा नजिक बनाइएको बागमती नटबन्धले पनि नेपालमा जलजमाउ भई डुबान हुने र क्षति पुग्ने हुनेगरेको छ ।
११) धनुषा र सिराहा जिल्ला: यी दुई जिल्लाको सीमा भएर भारततर्फ बग्ने कमला नदीको दायाँबायाँ दुबै देशतर्फ निर्माण गरिएको तटबन्ध । यो भारतको जयनगर सिंचाई पद्धतिसंग सम्बन्धित छ र बर्षाको समयमा पानी निकास हुननसकि नेपाली जनतामा असर पर्ने गरेको छ ।
१२) सिरहा जिल्ला: हरकट्टी गाउको दक्षिणको भारतीय दशगजामा निर्मित सिरहा बाँध सीमास्तम्भ नं. २५६(१) देखि २५६(४) सम्मको दगजाको भागमा सीमारेखाको लगभग समानान्तर करिब ३ किलोमिटर छ । गागन खोलाको पानी रोक्न बनाइएको यस बाँधले नेपालमा जलजमाउ हुनगई साबिकका ६ गा.वि.स. प्रभावित हुनेगरेका छन् ।
१३) सप्तरी जिल्ला: राजविराजदेखि दक्षिण लालापट्टी नजिकै खाँडो नदीमा बनाइएको यस बाँधले नेपाली गाउँहरु डुबानमा पर्ने गरेका छन् र यस बाँधको असर बर्षैभरि पर्नेगरेको छ ।
– दुई किलोमिटर लामो कुनौली तटबाँधको नामले चिनिने राजविराजदेखि करिब १० किलोमिटर दक्षिण–पूर्वी सीमावर्ती क्षेत्रमा सीमास्तम्भ नं.२२२ र २२३ बाट ५ मिटर मात्र टाढा रहेको यस बाँधले नेपालबाट बग्ने पानीलाई रोकी नेपाली भूभाग जलमग्न हुनेगरेको छ ।
१४) सप्तरी र सुनसरी जिल्ला: यी दुई जिल्लाको सीमानामा बग्ने कोशीमा बनेको कोशी बाँध कारण नेपालको ६८०० हेक्टर भूभाग डुबानमा परेको छ । यसबाट भारतले एकतर्फी रुपमा लाभ उठाइरहेको छ भने नेपालले ठूलो क्षति व्यहोरिरहेको छ ।
१५) मोरङ जिल्ला: नेपालमा बक्राहा र भारतमा लुना भनिने नदीमा भारतले दशगजा क्षेत्र नजिकै ३०० मिटर लामो तटबन्ध बनाएको छ । बर्षा याममा बक्राहा खोलाको पानी सजिलै निकास हुननसकि नेपालको भूभाग डुब्ने गरेको छ ।
१६) नदी जडान योजना (रिभर लिंकिंग आयोजना): १२,५०० किलोमिटर लामो भारतीय नदी जडान योजना ब्यारेज, बाँध, तटबन्ध र नहरको जलसञ्जाल हो । सीमावर्ती क्षेत्रमा निर्माण भइरहेको यस्तो योजनाबाट नेपालमा पर्ने प्रभावबारे भारतले नेपालसंग कुनै परामर्श गर्ने गरेको छैन । यसबाट नेपाली भूभागमा असर पर्ने निश्चित छ ।
१७) आयोग र कार्यदल: हालसम्म जलस्रोत र डुबान समस्याबारे नेपाल र भारत बीच ५ वटा आयोग र एउटा कार्यदल बनिसकेको छ । तर नेपालको राजनीतिक अस्थिरता र कमजोर सरकारका कारण समस्याको ठोस समाधान हुनसकिरहेको छैन ।
१८) नदीको आसपासमा जग्गा अतिक्रमण, चुरक्षेत्रको दोहन, नेपालको भन्दा विदेशीको आवश्यकता पूर्ति गर्न पर्यावरणमा नै प्रतिकूल प्रभाव पर्नेगरी रोडा, ढुंगा र बनजंगल लगायतका प्राकृतिक सम्पदाहरुको अनुचित दोहनले बाढी, पैह्रो र भूक्षयको समस्या बढ्दै गएको छ । यस समस्यालाई सीमावर्ती बाँधहरुले तराई मधेश डुब्नेगरी झन गम्भीर तुल्याइरहेको छ ।
अब के गर्ने ?
– अन्तर्राष्ट्रिय कानून र मान्यता अनुरुप सीमावर्ती क्षेत्रमा बाँध र तटबन्ध बनाउन नेपालको तर्फबाट भारत सरकारसंग दृढतापूर्वक कुरा गर्ने
– नेपाल र भारत दुबैको हितलाई ध्यानमा राखी पारस्परिक छलफलबाट मात्र सीमावर्ती क्षेत्रमा बाँध निर्माण कार्य गर्ने
– कोशी उच्च बाँध, पञ्चेश्वर बाँध, पूर्णागिरी बाँध, कर्णाली उच्च बाँध जस्ता चर्चित बाँधहरु निर्माण गर्दा नेपालको अहित हुनेगरी कुनै काम हुननदिने तर्फ सजग हुनुपर्छ । कोशी उच्च बाँधले नेपालका ११ जिल्लाको ठूलो भूभाग डुबानमा पर्नुका साथै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने छ । यस्ता कुराहरुतर्फ सचेत हुनु आवश्यक छ ।
– नेपालको चुरे क्षेत्र तथा पहाडी इलाकामा सडक र भूधरातलमा प्रभाव पार्ने विकासका गतिविधि गर्दा भूक्षय तथा पर्यावरणमा पर्नसक्ने असरको यथोचित लेखाजोखा गरिनु पर्छ । त्यसको आधारमा अति दोहन र नदीक्षेत्र अतिक्रमण रोक्नु पर्छ ।
– नेपाल भित्र तटबन्ध, बाँध र जलव्यवस्थापन गुरु योजना तयार गरी क्रमश: कार्यान्वयन गर्नुपर्छ ।
– सीमावर्ती क्षेत्रमा बनेका बाँधहरुको समग्र लेखाजोखा गरी नेपालको राष्ट्रिय सुरक्षाको सन्दर्भमा आवश्यक कार्य गर्न काम सुरु गरिएको थियो र राष्ट्रिय सुरक्षा नीति तय गरी नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो ।
(पूर्वगृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष रावलले मंगलबार संसदमा बाढी र डुबानबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा राखेका तथ्यहरुको सम्पादित अंश) @ कान्तिपुर |