बाढीपहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु

काठमाडौं – गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण तीन दिनमा ६६ जनाको मृत्यु भएको जनाएको छ । बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता भएका छन् ।
रौतहटमा ९, सुनरसीमा ८, मोरङमा ६, सिन्धुलीमा ४, झापामा, ४ दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा ३/३, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा २/२ र धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी झापामा १४, रौतहटमा ८, मोरङमा ७, सुनसरीमा ६, मकवानपुर र पाँचथरमा ३/३, पर्सामा २ र सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक/एक जना बेपत्ता भएका छन् ।
विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।
राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।