के अमेरिका र उत्तरकोरिया बीच युद्ध होला ?

ट्रम्पको कडा चेतावनीको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी टापु गुआममा क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको बताएर तनाव झनै बढाएको छ । गुआममा ६३ हजार मानिस बस्छन् ।
यी सबै घटनाक्रमहरू विकसित हुनुका पछाडि उत्तर कोरियाले निर्माण गरेको परमाणु हतियार र अन्तर्महादेशीय क्षेप्यास्त्रमा दक्षता हासिल गर्नु नै कारण हो ।
उत्तरले बनाएको परमाणु हतियार अन्तर्महादेशीय क्षेप्यास्त्रमा फिट भएपछि अमेरिका र एसियाली देशहरूमा चिन्ता थपिएको छ ।
तर विशेषज्ञहरूले यस विषयमा आतंकित हुनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कोरियाली प्रायद्वीपमा युद्ध चर्किंदा कसैको पनि हित हुँदैन । उत्तर कोरियाली सरकारको प्रमुख लक्ष्य आफ्नो अस्तित्व बढाउनु हो ।
यस्तोमा अमेरिकासँग युद्ध गरेर ऊ आफूलाई जोखिममा पार्न चाहँदैन । बीबीसी संवाददाता जोनाथन मार्कसका अनुसार अमेरिका र उसका सहयोगीहरूले उत्तर कोरियाको आक्रमणबाट युद्ध चर्किने व्यापक प्रचार हुनेछ ।
यस्तोमा उत्तर कोरियाले आत्मघाती कदम उठाउने छैन ।खासमा उत्तर कोरिया परमाणु शक्तिसम्पन्न देश बन्नका लागि कडा मेहनत गरिरहेको छ । यो क्षमता हासिल गरेपछि किम जोङ–उनको सरकारले आफूलाई बचाउन सक्छ ।किमले लिबियाका पूर्वशासक मुअम्मार गद्दाफी र इराकका सद्दाम हुसेनको जस्तो नियति आफूले भोग्नु नपरोस् भन्ने कामना गरेका छन् ।
उत्तर कोरियामाथि आक्रमण गर्दा आफ्ना सहयोगी जापान र दक्षिण कोरिया पनि तारो बन्छन् भन्ने अमेरिकालाई थाहा छ । यसको परिणामस्वरूप लाखौं मानिसको ज्यान जान्छ ।हजारौं अमेरिकीहरू पनि मारिने सम्भावना रहन्छ । ती अमेरिकीहरू सैनिक र नागरिकका रूपमा जापानमा छन् । अनि परमाणु हतियार आफ्नो भूमिमा नखसोस् भनेर पनि अमेरिका सचेत छ ।
उत्तर कोरियाको साथी भनेको चीन मात्र हो । चीनले उत्तर कोरियाली प्रशासनलाई नियन्त्रण गर्नका लागि पूरा कोशिश गर्नेछ । उत्तर कोरिया सकिनु चीनको हितमा छैन ।
किम सत्ताच्युत भए भने चीनलाई सामरिक रूपमा घाटा पुग्छ । यस्तो स्थितिमा अमेरिका र दक्षिण कोरियाली सैनिकहरूले चिनियाँ सीमाभित्र घुस्न सक्ने सम्भावना रहन्छ र चीन यस्तो स्थिति कदापि चाहँदैन ।ट्रम्पले उत्तर कोरियालाई असामान्य भाषामा थर्काएका भएपनि अमेरिका युद्ध नै चाहिँ गर्दैन ।
नाम खुलाउन नचाहने एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताए, ‘चर्को बयान आउँदैमा युद्ध भइहाल्छ भन्ने हैन ।’द न्यु योर्क टाइम्सका स्तम्भकार म्याक्स फिशरले यसमा सहमति जनाउँदै भने, ‘हामी एउटा टिप्पणीका भरमा युद्ध हुन्छ भन्न सक्दैनौं ।’तर यसका बाबजुद केही विश्लेषकहरू चाहिँ एउटा सानो गल्तीले पनि युद्ध भड्किन सक्ने सम्भावना रहेको बताउँछन् ।
@ बीबीसी हिन्दी |