रसुवाको पहिरेवेशीमा पहिरो जाँदा ८ घर पुरियो,पाँच जना वेपत्ता
रसुवा, साउन २२ |आइतबार साँझदेखि परेको अविरल वर्षाको कारण रसुवाको पहिरेवेशीमा पहिरो जाँदा ८ घर पुरिएको छ । उत्तरगया गाउँपालिका–४ मा आज राति ९ वजेतिर खसेको पहिरोको कारण ८ घर पुरिएको हो । घर पुरिएर पाँच जना वेपत्ता भएका छन् ।
पैरेवेशीँको दुई ओटा वस्तीमा पहिरो झरेको स्थानीयवासीले वताएका छन् । भ¥याङखोलामा रहेको चार ओटा घर मात्र भत्किएको र अर्कोपटीको वस्तीको चार घर भत्किनुका साथै पाँच जना वेपत्ता भएका स्थानीय प्रेम बहादुर थापा मगरले वताउनुभयो ।
कुवापानीको जंगलको पहिरो खसेर धर्म बहादर थापा मगरको घरमा रहेका ४ जना पुरिएको वताइएको छ । रातीको समयमा उद्धार गर्न समेत कठिनाई भएको स्थानीयवासीले वताएका छन् । पहिरोमा परेर घाइते भएका ४ जनालाई स्थानीयवासीले उद्धार गरेर प्राथामिक उपचार गरेका छन् ।
रातीको समयमा उद्धार गर्न कठिनाई भएका कारण सोमबार विहानैबाट सुरक्षाकर्मी खटिने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो । ‘पहिरोका कारण चारैतिर बाटो अवरुद्ध भएको कारण उद्धारकर्मी घटनास्थल जान नसकेका न्यौपानेको भनाई छ ।
त्यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुई ओटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।