खगेन्द्र संग्रौलाले कर्ण शाक्यलाई ‘चोर’ भनेपछि …..

काठमाडौं। पोखराको फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा लेखक खगेन्द्र संग्रौला र पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यबीच ट्वीटरमा बाझाबाझ परेको छ । संग्रौलाले शाक्यलाई आफ्नो ट्वीटमा ‘चोर’ भनेपछि शाक्यले पनि संग्रौलालाई ‘परपीडक’ (अरुलाई दुःख दिने) भनेका छन् ।
केही दिनअघि पोखराको फेवातालको जग्गा व्यक्तिको नाममा दर्ता भएको सम्बन्धी समाचार प्रकाशित भएको थियो । यो समाचारमा जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा दर्ता गराउनेहरुमा पर्यटन व्यवसायी शाक्यको नाम पनि उल्लेख थियो ।
सोही विषयलाई लिएर संग्रौलाले शाक्यको नाम उल्लेख नगरि तर उनैलाई संकेत गरेर व्यंग्यात्मक ट्वीट गरेका थिए ।
पोखरा आउँदा चालपाएँ-“सकारात्मक सोँच” एउटा थियो जो फेवाकिनारको माटो चुस्थ्यो। चुसाहा”सकारात्मक” बढेर माटो माथि खतरा बढेछ। चोरलाई चिनौँ !
त्यो व्यंग्यात्मक ट्विट आफैप्रति लक्षित भएको बुझेर शाक्यले जवाफ फर्काएका छन्।
(संग्रौलालाई संबोधन गर्दै) छुच्चो, नकारात्मक, परपिडक भएपनि म हजुरलाई इज्जत दिन्छु । प्राथना गर्छु हजुर कैले आत्मपिडक नहोस्। Hope it’s not your Tweet.
समाजमा ‘प्रतिष्ठित’को छवि बनाएका यी दुई ट्वीटरमा बाझाबाझमा उत्रिएपछि अरू पनि त्यो बहसमा मिसिएका छन्। कतिपयले संग्रौलाको समर्थन गरेका छन् र उनको साहसको प्रशंशा गरेका छन् । कतिपयले भने उनलाई कुरौटे भन्दै आलोचना पनि गरेका छन् ।
संग्रौलाले अर्को पनि ट्विट गरेका छन्
जो जति ढोँगी छ ऊ त्यति नै आत्मविज्ञापनको भोको हुन्छ। सकारात्मक सोँच, परोपकार र त्यागको विज्ञापन । मान्छे चिनिने अरूका आँखाले हो ब्रो।