भरतपुरमा मतगणना सुरू,रेणु दाहाल भन्दा देवी ज्ञवाली ७८४ मतले अगाडी

भरतपुरको मत गणना राति साढे १० बजेदेखि गणना सुरू भएको छ । गणना प्रकृया अन्तर्गत बाकसबाट मत पत्र खन्याएर सर्टिङ गर्ने र त्यसपछि गणना सुरू हुने क्रममा छ।
यस अगाडि वडा नम्बर २१ को मत गणना पछि वडा १९ को गणना सुरू भएको थियो। १९ वडाको गणना गर्ने क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित भएको थियो। आज १९ वडामा पुनः मतदान भएको हो।
अहिलेसम्म मेयर उम्मेद्वार देवी ज्ञवाली र रेणु दाहालबीच मात्रै ७८४ मतको अन्तर छ। देवी ज्ञवाली ४० हजार ९ सय ८० मतमा छन् भने रेणु दाहाल ४० हजार १ सय ९६ मतमा छन्।
आज मतदान भएको वडा नम्बर १९ र त्यसपछि २० वडाको गणना हुनेछ। भरतपुर महानगरमा जम्मा २९ वटा वडा छन्। ती मध्ये वडा नम्बर १९ को गणना जारी रहँदा मत पत्र च्यातिएको थियो। २० वडाको गणना हुन बाँकी थियो। आज सुरू भएको गणनामा १९ सकिएपछि २० नम्बर वडाको गणना हुनेछ। सुरक्षा र नियमहरू कडा पारिएको छ।
भरतपुरमा एमालेबाट मेयरमा देवी ज्ञवाली र माअोवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट साझा उम्मेद्वार रेणु दाहाल प्रतिस्पर्धामा छन्।