दीक्षा तामाङले जितिन् स्वर्णपदक

काठमाडौं – क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) की दीक्षा तामाङले नवौं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा दीक्षाले प्राइमकी निकिता कस्तीलाई ११–५ र ११–७ को सोझो सेटमा पराजित गरिन् । महिला टिम स्पर्धामा विजेश्वरीले आरुणीलाई ३–० ले हराउँदै स्वर्ण जित्यो । स्कुलतर्फ यू–१६ ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली पहिलो भए ।
उनले फाइनलमा आफ्नै स्कुलका सञ्जीव गुरुङको चुनौती १७–१५, ११–५ र ११–७ ले समाप्त पारे । यू–१२ ब्वाइज सिंगल्समा पहिलो बन्न सफल पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका विशाल गोलेलाई १३–११, ६–११, ११–८, ७–११ र ११–८ को सोझो सेटमा पाखा लगाए ।
यू–१४ ब्वाइज सिंगल्समा प्रोक्सिमाका रेखन तामाङले बाजी मारे । फाइनलमा उनले एभीएमका सुजन बडाललाई १२–१०, ११–१३, १५–१३ र ११–८ ले निराश पारे ।
स्कुलकै ब्वाइज डबल्समा सिर्जना ज्ञान सागरका बिकिन पोखरेल र प्रवीण सापकोटाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा प्रिमियरका हिमांशु सिंह र आर्यमान प्रधानलाई १६–१४ र ११–४ को सोझो सेटमा पन्छाए ।