नेपाल पर्वतारोहण संघको निर्वाचनमा शेर्पा र तामाङ समूहद्वारा उम्मेदवारको नाम सार्वजनिक

काठमाडौ – पर्वतारोहण क्षेत्रमा संलग्न व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी शनिबार हुने निर्वाचनका लागि अहिले संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पा र वर्तमान उपाध्यक्ष सन्तवीर लामा छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । आ–आफ्ना छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका शेर्पा र लामा समूहले मंगलबार मनोनयन दर्ता गराइसकेका छन् ।
करिब ११ सय जना मतदाता रहेको यस संघको आगामी नेतृत्व आफ्नो पक्षमा पार्न शेर्पा समूहले सोमबार नै सबै उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । लामा समूहले मंगलबार सबै उम्मेदवारको नाम सार्वजनिक गरेको हो । मंगलबार दिउँसो १ देखि ३ बजेसम्म उनीहरूले आ–आफ्ना समूहका तर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
यस निर्वाचनका लागि संघका पूर्वअध्यक्ष एवं स्वतन्त्र व्यवसायी शेर्पाको समूहबाट भूमिलाल लामा प्रथम उपाध्यक्ष, ङिमी शेर्पा द्वितीय उपाध्यक्ष, कुलबहादुर गुरुङ महासचिव, पी छेवाङ शेर्पा सचिव र विमल नहर्की कोषाध्यक्षमा भिड्दै छन । यसैगरी अन्य कार्यसमिति सदस्यहरूमा डा. हरिप्रसाद श्रेष्ठ, देवीप्रसाद पन्त, आङछेवाङ शेर्पा, दा गेल्जे शेर्पा, तुलसिंह गुरुङ, पेम्बादार्जे शेर्पा, बलराम (एकनाथ) न्यौपाने, मुकुन्दप्रसाद पोख्रेल र ल्हाक्पातेन्जी शेर्पा रहेका छन् ।
नेपाल पर्वतारोहण संघ बचाउ अभियान नाम दिइएको शेर्पा नेतृत्वको समूहलाई नेपाली कांग्रेसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट–नेपाल) र नयाँ शक्तिनिकट नेपाल पर्यटन परिषद् र स्वतन्त्र पर्यटन व्यवसायीले समर्थन गरेको छ । सो जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी उम्मेदवार जिम्बा जाङबु शेर्पाले आरोही पेशामा संलग्नहरूको हकहितलाई बढाउने, निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको भवन पूरा गर्ने तथा हिमाल जोगाउन व्यवसायीहरूको ऐक्यबद्धताका लागि आफूले काम गर्न उम्मेदवारी दिएको बताए ।
यसैगरी महासचिव पदका उम्मेदवार कुलबहादुर गुरुङले एनएमएको गतिविधिलाई थप सक्रिय बनाउने उद्देश्यले काम गर्न आफ्नो उम्मेदवारी दिएको बताए । कार्यक्रममा निट नेपालका अध्यक्ष दीपक महतले पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्न आफूहरू तयार रहेको बताउँदै अब यस संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त पारिने दाबी गरे ।
यसैगरी संघका अर्का प्रत्यासी उम्मेदवार लामा नेतृत्वको समूहलाई नेकपा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्रनिकट एकीकृत पर्यटन व्यवसायी संगठ (युटिन) र स्वतन्त्र शेर्पा समुदायले समर्थन गरेको छ ।
लामा नेतृत्वको समूहबाट दिवसविक्रम शाह प्रथम उपाध्यक्ष, माया शेर्पा द्वितीय उपाध्यक्ष, बोधराज भण्डारी महासचिव, टीकाराम गुरुङ सचिव र सुदर्शन न्यौपाने कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।