काभ्रे जिल्ला समन्वय समितिमा कांग्रेस–माओवादी गठबन्धन

१६ साउन, बनेपा। जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली कांग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ । जिससको निर्वाचन साउन २५ गते हुँदैछ ।
गठबन्धन अनुसार प्रमुखमा नेपाली काँग्रेसका शङखबुद्ध लामा तथा उपप्रमुखमा माओवादी केन्द्रका चेतमाया चौलागार्इं गौतमले उम्मेदवारी दिएका छन् । ।
त्यस्तै नेकपा (एमाले)बाट प्रमुखमा उद्धव केसी, उपप्रमुखमा मञ्जु गौतमको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत मेदिनी पौडेलले जानकारी दिए ।
नेकपा एमालेले समन्वय समितिको निर्वाचनका लागि नौ पदमा नै उम्मेदवारी दिएको छ भने कांग्रेस–माओवादी गठबन्धनले पदमा बाडफाँट गरेका छन् । जिल्लामा नौ पदका लागि १८ जनाको उम्मेदवारी परेको छ ।
जिल्लामा रहेका १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २६ जना मतदानमा सहभागी हुन्छन् । समन्वय समितिको निर्वाचनबाट एक प्रमुख, एक उपप्रमुख, तीन महिला सदस्य, एक दलित तथा अल्पसंख्यक र अन्य गरी कुल नौ जना निर्वाचित हुनेछन् । रासस