दुई घण्टा भएपनि देउवालाई थुन्ने सुशीलाको योजना थियो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता गराउने कदम ठीक भएको भन्दै नयाँ कुराको खुलासा गरेका छन्।
आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै नेता जोशीले त्यतिबेलाकी प्रधानन्यायाधीश कार्कीले दुई घण्टा भएपनि सभापति शेरबहादुर देउवालाई थुन्ने योजना बनाएको बताएका छन्। देउवालाई दुई घण्टा भएपनि थुन्ने सुशीलाको योजना रहेको कुरा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई काठमाडौं विमानस्थलमा सुनाएको पनि उनको दाबी छ।
‘मलाई एमालेका नेता माधव नेपालले देउवालाई जसरी भएपनि दुई घण्टाका लागि भएपनि थुन्ने योजना सुशीलाको थियो भनेर सुनाउनु भएको थियो। त्यसैले उनीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नु ठीक निर्णय थियो,’ बैठकमा जोशीले भने।
जोशीले पार्टीले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुका पछाडि कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव नभएको बताए। उनले भने,‘कार्कीविरुद्ध लगाइएको महाअभियोग ठीक थियो। तर, जनतालाई हामीले त्यसबारेमा बुझाउन सकेनौं।’
जोशीले अन्तरघातकै कारण पार्टीले चुनाव हारेको पनि बताएका थिए। @ नेपालखबर |