नेपाल आइडलबाट केन्जल मेहर श्रेष्ठको यात्रा समाप्त

काठमाडौँ : नेपाल आइडलबाट काठमाडौँकी २२ वर्षीया केन्जल मेहर श्रेष्ठको यात्रा समाप्त भएको छ।
शुक्रबार प्रसारण भएको टप १० को एलिमिनेसन राउन्डमा केन्जलसँगै प्रमिला राई र उल्सन श्रेष्ठ पनि बटम थ्रीको डेन्जर जोनमा परेका थिए। तर दर्शकबाट सबैभन्दा कम भोट पाएको आधारमा केन्जल आउट भइन्।
आउट भएको घोषणा हुँदा पनि केन्जलले त्यसलाई सहजै स्वीकारिन् र हाँसीहाँसी विदा भइन्। उनले जे कुरालाई पनि सहजै लिने विषयलाई जजहरुले पनि प्रशंसा गरे।
इन्दिरा जोशीले त घोषणै गरिन्- यु आर द मोस्ट फेमस स्टार अफ नेपाल आइडल। उनले प्रतियोगिताको पुरस्कार राशी २० लाख रुपैयाँ र गाडी केन्जलले आफै कमाउन सक्ने विश्वास दिलाउँदै भनिन्- यु आर सेलेबल आर्टिस्ट। तपाईँलाई हेर्न, तपाईँको परफर्मेन्स हेर्न दर्शक आउने छन्।
‘जितेर गए जस्तै गरी जाने हुनुपर्छ’, अर्का निर्णायक न्ह्यु बज्राचार्यले भनिन्।
केन्जल आउट भएपछि डेन्जर जोनमा परेका उल्सन श्रेष्ठ र प्रमिला राईले आफूलाई सम्हाल्न सकेका थिएनन्।
केन्जलले जाँदाजाँदै न्ह्यु बज्राचार्यको अनुरोधमा ‘आमा’ गीत सुनाइन्।