हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

भाँडा माझेरै डाक्टर बनिन् – भावना तामाङ

‘डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी । जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मेकअप थिएन । ‘नेचुरली ब्युटी’ थिइन्, उनी । तर, दाँतलाई भने टम्म तारले बाँधेकी थिइन् । ‘डेन्टिस्ट’ बनेपछि आफ्नो दाँतको आफैंले उपचार गर्नु भएको हो ?’ मैले उनलाई सोधेँ । हाँस्दै भनिन्, ‘होइन नि, आफैँले त गाह्रो हुन्छ । दाँत पूरै पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएको थियो । यसलाई मिलाएकी मात्रै,’ उनको हाँसोले कोठा थर्कियो ।

हाँस्दा उनको मुहार चम्किएको थियो । म चाहन्थेँ, उनले जीवनका तमाम गल्छेंडाहरूको कथा यसैगरी हाँसेरै सुनाउन् । ‘हामी पत्रकार, खासमा दुःखमा साथ दिनभन्दा दुःखका खाटाहरूलाई कोट्याउँछौँ मात्र,’ मैले सुस्तरी भनेँ । उनी तुरुन्तै गम्भीर भइन् । ‘पत्रकारिता त्यस्तै मात्रै त होइन होला है ?’ उनले हाँस्दै भनिन् । हामीले अर्डर गरेको खाजा आइपुग्यो । खाँदै गफिन थाल्यौँ । बाहिर पानी दर्किरहेकै थियो । झ्यालबाट विमानस्थल छेउको डाँडा देखिन्थ्यो । बाँकी सबै सिमेन्टीको जंगल । त्यही सिमेन्टीको जंगलमा अनगिन्ती दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी । यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन् ।

 

आमाको पछिपछि

‘हाम्रो खास घर सिन्धुपाल्चोक ज्यामिरेमा हो रे,’ उनले आफ्ना कथाहरू भन्न शुरु गरिन् । २४ वर्षअघि उनी काठमाडौंमै जन्मिइन् । उनीपछि दुई वटी बहिनीहरू जन्मिए । बाबु ज्यामी काम गर्थे । आमा (मीना तामाङ) अरूको घरमा काम गर्थिन् । बौद्ध नयाँबस्ती क्षेत्रका कयौं घरमा उनकी आमाले भाँडा माझेकी छिन्, लुगा धोएकी छिन्, भारी बोकेकी छिन् । गल्ली गल्लीमा अरूको रक्सी बोकेर पुर्‍याएकी छन् ।

सानोमा उनी पनि कयौंपटक आमाको पछिपछि हिँडेकी छिन् । ‘एक जर्किन रक्सी पुर्‍याएवापत आमाले पाँचदेखि १० रुपैयाँसम्म पाउनुहुन्थ्यो,’ उनले झ्यालतिर हेर्दै सुनाइन् । कान्छी बहिनी जन्मिएपछि घरमा कलह शुरु भयो । बुवाले रक्सी खाएर आमालाई रुवाउने गरेको दृश्य उनको आँखामा आज पनि ताजै छ । ‘झगडाको मूल कारण छोरी मात्रै जन्मिए भन्ने थियो,’ उनले ती दिन सम्झिइन् ।

समता स्कुलमा २ कक्षामा भर्ना भइन्, उनी । स्कुलका सञ्चालक उत्तम सञ्जेलले उनलाई पढ्न हौसला दिए । घरको अवस्था फेरिएन । बुवाले आमालाई मानसिक र शारीरिक तनाव दिइरहन्थे । आमाको आँशु नबगेको दिनै हुन्थेन । जसले बुवाप्रति उनको मोह भंग गराउँदै गयो । बुवालाई हेर्न नपाए पनि हुन्थ्यो भन्ने लाग्न थाल्यो उनलाई । तर, जति नै तनाव भए उनले पढ्न छाडिनन् । आधा रातसम्म मैनबत्ती बालेर पढ्थिन्, उनी । कक्षामा सधैं प्रथम नै हुन्थिन् । अर्काको घरमा काम गरेर आमा राति अबेर आउन थालेपछि पढ्दा पढ्दैको किताब थाती राखेर उनी आमा खोज्न निस्किन्थिन् । अरूको घर–घर बोलाउँदै हिँड्थिन् । साँझ अबेरसम्म आमाले ठूल्ठूला पर्दाहरू अँध्यारोमा सकी/नसकी धोइरहेको देख्दा उनको मन दुख्थ्यो ।

छोरीलाई देख्ने बित्तिकै आमा सुक्कसुक्क रुन थाल्थिन् । त्यसपछि उनी आमालाई सघाउन थाल्थिन् ।शहर सुनसान हुँदै गएपछि ज्याला थापेर आमाछोरी बाहिरिन्थे । कोलाहलबाट शून्यतामा डुब्दै गएको रात । सडकमा मान्छे र कुकुरले जिस्क्याउँथे, उनीहरूलाई । पैदलै घर पुग्थे । घरमा पुग्दा भोकै सुतिरहेका हुन्थे दुई बहिनी । बुवा मातेर ढोकामा पल्टिरहेका हुन्थे । आमाछोरी आएको थाहा पाउने बित्तिकै उठेर शुरु हुन्थ्यो, फेरि दुःखको अर्को अध्याय । उनीहरू विवश थिए । आमालाई बुवाले कुटेको हेरिबस्नु शिवाय अरू उपाय थिएन, उनीहरूसँग । आमाको वरिपरि जम्मा भएर सँगै रोइरहन्थे, उनीहरू । तर, जस्तै तनावको बीच पनि उनले पढ्न कहिल्यै छोडिनन् ।

मालीगाउँको त्यो घर

एकदिन उनले आमालाई आफ्नो लागि काम खोजिदिन आग्रह गरिन् । तर, आमाले मानिनन् । धेरै कर गरेपछि कालोपुल पारी मालीगाउँमा एउटा घरमा काम गर्न मिलाइदिइन् । त्यसपछि उनी काम गर्न जान थालिन् । त्यसबेला उनी ८ कक्षामा पढ्थिन् । ‘महिनाको पाँच सयमा भाँडा माझ्ने, लुगा धुने, घरसफा गर्ने काम गरेँ,’ उनले गम्भीर हुँदै सुनाइन् । तर, उनी पढाइ छुट्ने तनावमा थिइन् । तनावकै बीच उनले तीन महिनामै काम छोडिन् । काम छाडेर उनी बुवाबाट छुटकारा पाउने उपायको खोजीमा लागिन् । ‘मैले आमालाई धेरै सम्झाएँ । अन्त्यमा आमा पनि तयार हुनुभयो,’ उनले जीवनको महत्व‍पूर्ण निर्णय गर्वका साथ सुनाइन् । उनीहरूले बुवालाई छाडिदिए ।

प्रधानमन्त्रीसँग भेट

त्यसपछि आफ्नो जीवनलाई दुःखको अर्को भंगालोमा होमिदिए, उनीहरूले । तीन बहिनी छोरी लिएर संघर्ष शुरु गर्न थालिन्, उनकी आमाले । तीनै बहिनी छोरीलाई समतामा पढाउन थालिन् । केही वर्षसम्म उनको बुवाले आमासँग माफी मागेजस्तो गरे । तर, नसुध्रिने देखेपछि आमाको मन फर्किएन । साता, महिना र वर्ष बित्यो । विस्तारै बुवाको आउने क्रम कम हुँदै गयो । बुवासँग टाढिएको आज ठीक १० वर्ष बितिसकेको छ । घरेलु हिंसा थोपर्ने बुवाबारे आमाछोरीले कुनै खोजखबर गर्न आवश्यक ठानेका छैनन् ।

२०६५ सालमा उनले ८८.७५ प्रतिशत नम्बर ल्याएर एसएलसी पास गरिन् । त्यति नम्बर ल्याउने उनी समता स्कुलकै दोस्रो ब्याचकी पहिलो छात्रा थिइन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उनलाई भेटेर बधाइ दिएका थिए । छात्रवृत्ति दिन धेरै कलेज आए । तर, उनी दोधारमा थिइन् । उनलाई अब काम गरेर आमाको दुःख आधा बाँड्नु थियो । सहपाठीहरू नाम चलेका कलेजमा भर्ना भइसकेका थिए । उनी भने कसरी पढ्ने भन्ने समस्यामा जेलिएकी थिइन् । घरमै बसिरहिन् । आमाले पढ्न हौसला दिन्थिन् । अन्ततः भावना नपढ्ने सोचमा पुगिन् ।

 

परीको आगमन

‘त्यो दिन साँझको बेला थियो । नयाँबस्तीको सानो अँध्यारो कोठामा हामी बसिरहेका थियौँ । एक्कासि हाम्रो अगाडि ढोकामा सेतो लुगा लगाएको परीजस्तै मान्छे देखा परिन् । बहिनीहरू आत्तिए । म त हेरेको हेर्‍यै भएँ । आमा विस्तारै उठ्नुभयो,’ त्यसदिनको घटना हर्षित हुँदै सुनाउन थालिन् । ती महिला कोठामै पसिन् । ‘तिमी पढ्ने हो ? भनेर मलाई सोध्नुभयो’ खुशी हुँदै उनले सुनाइन् । त्यसपछि भावना अक्कमक्क परिन् । हर्षका आँशु पनि झरे । परी बनेर आउने महिला स्पेनिस नागरिक थिइन् । भावनाले नाम भने खुलाउन चाहिनन् । ‘कसैलाई नबताउन भन्नुभएको छ । उहाँ त मेरो लागि भगवान्जस्तै हुनुहुन्छ,’ उनले भनिन् ।

मदर टेरेसाको जस्तै लुगा लगाएर सिस्टर निर्मला फाउन्डेसन खोलेर मित्रपार्क छेउमा बसेकी महिलाहरूले दीनदुःखीको सहयोग गर्छिन् भन्ने उनकी आमाले थाहा पाएकी थिइन् । त्यही आशामा उनकी आमा त्यहाँ गएर व्यथा पोख्थिन् । फर्किँदा पोल्टामा एकमुठी चामल लिएर आउँथिन् । तिनै महिलाहरूले भावनालाई सहयोग गर्न स्पेनका नागरिकलाई खोजेर ल्याएका थिए ।

आमाको नामबाट नागरिकता

पढ्ने सपना पूरा हुने भएपछि भावनाको जीवनले नयाँ मोड लियो । उनी मानवीयताको सहारामा बामे सर्न थालिन् । ‘तर त्यसैबेलादेखि मैले अठोट गरेकी थिएँ । म कुनै दिन आफ्नै खुट्टामा उभिन्छु,’ उनले गर्व साथ भनिन् । त्यसपछि उनी होस्टेल बस्दै ट्रिनिटी कलेजमा विज्ञान विषय लिएर प्लस टु पढ्न थालिन् । होस्टेलमा उनी सबैकी प्यारी थिइन् । पढ्न थालेको केही महिनामा उनले एउटा अमूल्य उपहार पाइन् । त्यो थियो, ल्यापटप । ‘त्यो ल्यापटप बिग्रे पनि जिन्दगीभर कहिल्यै छाड्दिनँ,’ उनले भनिन् । आमाकै नामबाट उनले नागरिकता बनाइन् ।

भारी बोक्ने भरियाहरू, दुःख पाएकाहरू उनीहरूका आफन्त भए । आँशुसँग गाँस काट्नुपर्ने दिनहरू विस्तारै कम हुँदै जान थाले । प्लस टु सकेर उनी ‘डेन्टिस’ बनेर नामको अघि डाक्टर थप्ने सपना देख्न थालिन् । अन्ततः ती मनकारी स्पेनिस परीले २० लाखभन्दा धेरै खर्चिएर भावनालाई जोरपाटी अत्तरखेलस्थित मेडिकल कलेजमा भर्ना गरिदिइन् ।पाँच वर्षको कडा मिहिनेतपछि उनले भर्खरै बीडीएस पास गरिन् । अब उनी भावना तामाङबाट डाक्टर भावना तामाङ भएकी छन् । ‘मेरो लागि यो एउटा खुड्किलो मात्रै हो ।

शिखर अझै माथि छ,’ उनले रातले छोप्दै गएको नयाँबस्तीतिर हेर्दै भनिन् । ‘आमाको मुहारमा खुशी ल्याउनु छ,’ उनी गम्भीर हुँदै गइन्, ‘मेरो पहिलो कमाइ ठूलो फ्रेममा सजाएर आमालाई दिनु छ ।’ त्यसपछि वातावरणमा शून्यता छायो । उनी चुपचाप मोबाइल खेलाउन थालिन् । निःशब्द भएँ म । कोठामा सन्नाटा छायो । मात्र परपर गाडी गुडेको आवाज मन्दमन्द आइरहेको थियो । बौद्ध स्तुपा हुँदै एउटा परेवा हामी बस्ने झ्याल नजिकै आयो । शून्यतालाई परेवाले नियाल्यो र भुर्रर उडेर गयो ।

-राजु स्याङ्तान / अन्नपुर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution