उकुषा गिरीले जितिन् – मिस एसिया नेपालको उपाधि

काठमाडौं- राजधानीको भिमसेनगोलाकी १८ वर्षीया उकुषा गिरीले ‘मिस एसिया नेपाल २०१७’ को उपाधि चुमेकी छिन्। उनलाई अघिल्लो वर्षकी विजेता तथा ‘मिस एशिया ग्लोबल’मा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज पहिर्याइ दिएकी थिइन्।
विभिन्न विज्ञापनसँगै र्याम्प मोडलिङसमेत गर्दै आएकी उकुषाले उपाधिसँगै आगामी असोजमा श्रीलंकामा हुने ‘मिस एसिया ग्लोबल’मा सहभागिताको अवसर पाएकी छन्। उनले ताजसँगै ५० हजार रुपैयाँ तथा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसर पनि पाएकी छन्।
नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा काभ्रेपलाञ्चोककी मेडिकल विद्यार्थी परीक्षा विष्ट ‘फस्ट रनर अप’, जानकी श्रेष्ठ ‘मिस पपुलर’ र ‘मिस बेस्ट ड्रेस’सहित ‘सेकेन्ड रनर अप’ बने। त्यस्तै, विधागततर्फ नेहा बिष्ट ‘मिस बब्ली’ र ‘मिस चार्मिङ’, सुस्मा ठकुरी ‘मिस ट्यालेन्ट’, सुमी भट्टराई ‘बेष्ट वल्क’ र कृषा श्रेष्ठ ‘मिस कन्पि्कडेन्ट’ बने।
आयोजकका अनुसार शीर्ष विजेता र फस्ट तथा सेकेन्ड रनर अप एक बर्षसम्म आयोजक संस्था तथा फ्रेन्ड्स इनिसेटिभको सद्भावना दूत रहने छन् भने सम्पूर्ण उप–उपाधि विजेता तथा प्रतियोगीलाई विभिन्न अवसर प्रदान गरिनेछ।
सोनी खड्का र प्रिया रानी लामाको कोरियोग्राफी रहेको प्रतियोगिताको अन्तिम चरणमा सञ्चारकर्मी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्री र पूर्व मिस अरोमा चितवन इशा प्रधान निर्णायक थिए।