अक्षयकोषबाट भागे माओवादी नेता

२७ असार, काठमाडौं । माओवादी केन्द्रले निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा कोष स्थापना गर्ने निर्णय भएको थियो । १० वर्षे ‘जनयुद्ध’, जनआन्दोलनलगायत आन्दोलनका सहिद, बेपत्ता परिवारका छोराछोरीको पठनपाठन तथा व्यवस्थापन, घाइते अनि अंगभंग भएकाहरूको उपचारका लागि कोष बनाउने निर्णय केन्द्रीय समितिले गरेको थियो । कोष खडा गर्नका लागि ठोस योजना बनाउन नसक्दा दुई वर्षसम्म निर्णय अलपत्र परेको हो । कोष स्थापनाका लागि अध्यक्ष दाहालले १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । यद्यपि, उनले पनि कोष स्थापना गरेर रकम भने जम्मा गराइसकेका छैनन् । अन्य नेताले भने कोषका लागि सहयोग राशिको ‘टोकन’ नै घोषणा गरेका छैनन् । अध्यक्षदेखि साधारण सदस्यसम्म स्वेच्छिक रूपमा सहयोग संकलन गरी कोष सञ्चालनमा ल्याउने जनाइएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।