फेसबुकले बढाउँदैछ ‘डिभोर्स’

काठमाडौं । डिभोर्स अर्थात श्रीमान/श्रीमतीबीचको सम्बन्ध अन्त्य, अर्थात पारपाचुके । पश्चिमा देशमा औसतमा एउटा वैवाहिक दम्पत्तिको सँगै बस्ने समय आठ वर्ष मात्र हुने गरेको तथ्यांकले देखाएको छ । म्याककिन्ले इरभिन नामक अमेरिकी ल फर्मका अनुसार औसत पारपाचुके उमेर करिब ३० वर्ष रहेको छ ।
अमेरिकामा ४१ प्रतिशत विवाहितले पहिलो श्रीमान वा श्रीमती छाड्छन् । अमेरिकाको डिभोर्स दरमा सन् १९८० देखि केही कमी आए पनि अब सामाजिक सन्जालको बढ्दो चलनसँगै यो दर अझै बढ्ने सम्भावना देखिएको समाजशास्त्रीले बताएका छन् ।
सामाजिक सञ्जालले अमेरिकामात्रै होइन, नेपालसहित विश्वका अन्य देशमा पनि समस्या निम्त्याउनेक्रम बढ्दो छ ।
हफिङ्टन पोस्टले प्रकाशित गरेको एक समाचारअनुसार प्रत्येक सात जनामा एकजना विवाहित व्यक्तिले आफ्नो श्रीमान वा श्रीमतीको फेसबुक वा अन्य सामाजिक संजालमा देखिएको शंकापूर्ण व्यवहारका कारण सम्बन्ध टुटाउने विषयमा सोच्ने गर्दछन् । यस्तो सामाजिक सञ्जालमध्ये फेसबुक, स्काईप, स्न्याप चाट, टुइटर र ह्वाट्स एप पारपाचुकेको प्रमुख कारण बनेका छन् ।
म्याककिन्ले इरभिन ल फर्मका अनुसार तीनमा एक दाम्पत्य जीवनको अन्त्य सामाजिक सन्जाल वा सोसियल नेटवर्किङका कारण भएको छ । बस्ल मिडिया इन्कका अनुसार फेसबुक वा म्याज डट कम (जोडा जोडी मिलाउने साइट) का कारण धेरै जीवन विखण्डन भएका छन् ।
बस्ल मिडिया इन्क भन्छ– “१५ प्रतिशत दम्पतिले सोसल मिडिया वैवाहिक जीवन टुटाउन सहायक हुन्छ भनेका छन् भने १६ प्रतिशतले यसले दुईबीच रिस, डाहा र झगडा बढाउन मद्दत गरेको स्वीकार्छन । त्यस्तै १४ प्रतिशतले आफूले आफ्नो जोडीको फेसबुक लुकेर चेक गर्ने गरेको पनि स्वीकारेका छन् ।”
एक घन्टामा एकपल्ट भन्दा बढी फेसबुक वा अन्य सामाजिक सन्जाल हेर्ने बानी भएका व्यक्तिको आफ्नो प्रेमी वा प्रेमीकासँग झगडा पर्ने पनि बताइएको छ । यो झगडाका कारण आठ प्रतिशत वैवाहिक व्यक्तिले आफ्नो सामाजिक संजालको एकाउन्ट गोप्य राख्ने गरेको पनि बताएका छन् ।
जोडीबीच हुने कूल झगडाको २५ प्रतिशत कारण फेसबुक भएको पनि यो अनुसन्धानमा संलग्नहरूले बस्ल मिडियालाई बताएका छन् । कुनै श्रीमान वा श्रीमतीले पारपाचुके मागेको अवस्थामा ८१ प्रतिशत अमेरिकी वकिलले महिला वा पुरुषको फेसबुक एकाउन्टलाई तिनले एक अर्कालाई धोखा दिएको प्रमाणका रुपमा पेस गरेका छन् ।
तर, सामाजिक मिडियाको व्याप्तताले यो समयलाई अझै घटाउन थालेको विज्ञले बताएका छन् ।
यता नेपालमा पनि साइवर अपराधसम्बन्धी घटना प्रत्येक वर्ष बढ्ने गरेको छ । २०७०–०७१ मा ९१ वटा मात्रै उजुरी परेकोमा ०७१–०७२ मा २२१ र ०७२–७३ मा ७६९ साइवर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार नेपालमा पनि फेसबुकलगायत सामाजिक सञ्जालबाट परेको समस्याका बारेमा थुप्रै उजुरी पर्ने गरेको छ । तर त्यसमध्ये कति ‘डिभोर्स’ कै अवस्थामा पुग्यो भनेर एकिन तथ्यांक भने नभएको महाशाखाले जनाएको छ ।
“साइबर अपराधसम्बन्धी उजुरी पहिलेभन्दा बढ्न लागेको छ,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने,“फेसबुक र ट्विटरका कारण कति कति छन् भनेर अहिले एकिन भन्न सकिने अवस्था छैन ।” बारह्खरीबाट साभार |