चोरिएको ‘छक्का पञ्जा’ लाई सर्वश्रेष्ठ अवार्ड?

काठमाडौं – नेपाली चलचित्रमा ‘चोरी’ शब्द पर्यायजस्तै बनेको छ । कहिले नेपाली सिनेमा कथा नै चोरी भएको भन्ने आरोप लाग्ने गर्छ भने कहिले चलचित्रमा जस्ताको तस्तै संवाद चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ ।
कथा मात्र होइन नेपाली चलचित्रमा एक्सन दृश्यदेखि पाश्र्व संगीत पनि चोरिएको आरोप लाग्ने गर्छ सिनेकर्मीलाई । अहिले भने चलचित्र ‘छक्का पञ्जा’ को पोस्टर नै चोरिएको आरोप लागेको छ । चोरीको आरोप त ठीकै थियो । अर्को रमाइलो कुरा त के पनि छ भने उक्त पोस्टरले ‘सर्वश्रेष्ठ पोस्टर डिजाइन’को अवार्ड समेत पाएको छ ।
बक्स अफिस फिल्म क्लब नेपालले लण्डनको थर्ड आइ टिमसँग मिलेर गरेको दशौं ‘फिल्म फेयर अवार्ड’ मा चलचित्र ‘छक्का पञ्जा’ ले सर्वश्रेष्ठ पोस्टर डिजाइनको अवार्ड पाएको हो । डिजाइनर सुन्दर श्रेष्ठले गरेको उक्त डिजाइन हलिउड चलचित्र ‘हल पास’ सँग मिल्छ ।
यही प्रसङ्गलाई लिएर एक फेसबुक प्रयोगकर्ताले निर्माता दीपकराज गिरीलाई पोस्टर चोरी बारेमा जिज्ञासा राखेका छन् । उक्त जिज्ञासामा दीपकराज गिरीले ‘डिजाइनर प्रभावित हुन सक्ने’ प्रतिक्रिया दिएका छन् । साथै, उनले लामो स्टाटस पनि राखेका छन् ।
हलिउड चलचित्र ‘हल पास’ सन् २०११ मा नै प्रदर्शनमा आएका फिल्म हो । एकातिर चलचित्र ‘छक्का पञ्जा २’ सम्पादनमा छ भने अर्कोतिर चोरिएको डिजाइनले गर्दा छक्का पञ्जाको पोस्टर पनि अवार्डसँगै यतिबेला सतहमा आएको छ | @ लोकान्तर |