ग्याल्बो चुईनी – तामाङ समुदायसंग सम्बन्धित महत्वपूर्ण जानकारी

-फराप तामाङ रुम्बा
गोर्खा राज्यको विस्तार हुनुपुर्व वि. स. १८१८ सम्म तामाङ राज्यहरुको अस्तित्व रहेको थियो | “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो |
धेरै विद्वानहरुले काठमाण्डौ उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछी प्रवेश गरेका समुदायहरुसंग पराजित भएपश्चात तामाङहरुले काठमाण्डौ उपत्यको काठ र वरिपरिको पर्वतीय क्षेत्रमा बसोबास गर्न थालेका हुन् (वंसिटार्ट, १९०९ : १४१, कारण, १९६० : ६६) | काठमाण्डौ उपत्यकाको बुढानिल्कण्ठको दक्षिण-पूर्वतिर बानियापाखा र पन्डित गाउको बीचमा रहेको धोबीखोलामा लेलीनग्रन्थ पुरातत्व विभागका प्रागैतिहासिक पुरातात्वविद डा. एनातोली याकोब्लेभ शेटेन्कोबाट भएको उत्खननले मंगोलियाका गोवी नमुनाका ढुंगेउपकरण काठमाण्डौमा फेला परेबाट पाषयुगीन मंगोलियनहरु तिब्बत र हिमालयपार गरी नेपाल आइपुगेको र इसापूर्व ३०,००० वर्षभन्दा पहिलेदेखि नै मंगोलहरु काठमाण्डौ उपत्यकामा आवाद भएको अनुमान गरिएको छ | यसबाट काठमाण्डौमा सबैभन्दा पहिले मंगोल मुलका मानिसहरुले बसोबास गरेका थिए र ती मानिसहरु तामाङ नै थिए भन्ने बलियो प्रमाण दिन्छ (शर्मा, सं, २०३९ : ३५९-४६४) |
नेपालका आदिवासी शंकारहित रुपमा मंगोलहरु थिए (वंसिटार्ट, १९९१) | अहिले पनि काठमाण्डौको तीन शहर र तिनको उपशहरहरुको चारढोकादेखि बाहिर चारैतिर तामाङ जातिको घनावस्ती शुरुहुन्छ | सन् १८४७ मा हडसनले उपत्यकाको र त्यसको वरिपरी नेवार र मुर्मी (तामाङ) बसोबास गर्दछन भनेका छन् (१९७२ : ३०) | सन् १८८०-१८९५ तिर वंसिटार्ट लेख्दछन “नेपाल उपत्यकामा घना आवादी छ र त्यहा करिव ३००,००० मानिसहरु होलान” भन्ने अनुमान गर्न सकिन्छ र तिनीहरुमध्ये अधिकांस नेवार र तामाङ छन् (१९९१ : ६) | कर्कपैट्रीकले “नेपालमा नेवार जातिले राज्य गर्नुभन्दा पहिले भोटे जातिले राज्य गरेका थिए | नेवारहरुले तिनीहरुलाई काठमाण्डौ उपत्यकाबाट हटाएका थिए, जसलाई काठ भोटिया भनिन्थ्यो जो आजसम्म संरक्षित छन् र हाल कच्छाडको पहाड तर मुख्यरुपमा कुतिपट्टीको पर्वतीय भू-भागमा आवाद छन्” भनेका छन् (१८११ : १४८) |
ह्यामिल्टनले हिन्दुकृत मुर्मी (तामाङ) नै काठ भोटिया हुन्” भनेका हुन् र त्यो समुदाय नेवारभित्र समाहित छ भनेका छन् (१९९० : ५९) | लिच्छवीकालको अभिलेखमा चावहिल उत्तर-पूर्वको भू-भागलाई भोटबिस्ट भनिन्थ्यो | यसै क्षेत्रमा मानदेवको पालामा बौद्ध स्तुपा बनेको भनिन्छ र त्यो तामाङ वंशावालीअनुसार योन्जन, घिसिङ, वल र ढोग्चन थरका तामाङ पुर्खाहरुले निर्माण गरेका थिए (तामाङ सं. २०५१ : ४२) | काठमाण्डौका नेवारहरु अझै पनि बनेपालाई भोट भन्दछन | तामाङ भाषाको वोद अपभ्रंश भै वोदी, बनेपा र भोट बनेको हो | म्याकडोनाल्डले “तामाङहरु मुख्यरुपमा पूर्वमा दुधकोशी र पश्चिममा बुढीगण्डकी बिचको माथिल्लो आधाभाग २०० मिटरदेखि २७०० सय मिटरको उचाईमा बसोबास गर्दछन” भनेका छन् (१९८३ : १२९) | यस क्षेत्रमा तामाङहरुको सैयौको संख्यामा किपट (सामुहिक भुमि) पाइएको छ हेर्नुहोस – लामा (१९६९), वंसिटार्ट (१९०६), मोरिस (१९३३), फुरर हेमेन्ड़ोर्फ (१९५६) र रेग्मी (१९७८) |
मुलत: यसै क्षेत्रलाई तामाङहरुले तामाङ स्वायत्त प्रदेश हुनुपर्दछ भनेका हुन | यस क्षेत्रमा गोर्खा साम्रज्याको स्थापना नहुन्जेलसम्म पनि कुनै न कुनै रुपमा तामाङहरुको स्वाशासित राज्य (मुख्खेली) हरु थिए | गोर्खाको बार्पाकमा घलेराज्य, पूर्वपट्टी गण्डी (बुढीगण्डकी) को पुर्व किनार धादिङको सेमजोङको डाप्साङमा वाईबा थरका तामाङ राजाको राज्य थियो, जसलाई सम्भवतया गोर्खाको राजा राम शाहले पुर्वतर्फ बढ्ने क्रममा हराएका थिए | धादिङ कै सेर्तुङ, झार्लाङ र बसेरमा तामाङराज्यहरु थिए | तामाङहरु राजालाई “ग्ले” भन्दछन यहि अपभ्रंश भै “घले” बनेको हो | रसुवाको गोल्जुङमा राजा नरभूपाल शाहको पालासम्म घले तामाङराज्य थियो | पृथ्वीनारायण शाहले जितेपछि आन्तरिक नेतृत्व त्यहिको ज्योमोलाई दिई बाहिरी नेतृत्व गोर्खाले लिएको थियो (तामाङ, सन् २००५) |
नुवाकोटको ककनीमा तामाङको रुम्बा थरको राज्य थियो | मल्लहरुले नै ककनीराज्यलाई उखेलेका थिए | गोपालराज वंशावलीले नेवार र तामाङहरुबीचको तनावमाथि निकै हदसम्म पारेको देखिन्छ | ह्यामिल्टन र हजासनका लेखहरुले यो छनक दिन छोडेको छैन | रामेछापको दोरम्बा, ताल्जुमा घिसिङ थरका तामाङ राजाको राज्य थियो | यसलाई गोर्खाली सैनिकले अन्तिम पटक सन् १७६२ भादैमा कब्जा गरेका थिए (थापा, २०३९ : ७०-७१) | काभ्रेको तिमालमा बल तामाङको स्वायत्त राज्य थियो | यसलाई पृथ्वीनारायण शाहका भाई दलजीत शाह र रामकृष्ण कुवरको नेतृत्वमा आएको गोर्खाली फौजले वि. सं. १८१९ असोज २ गते कब्जा गरेको थियो (आचार्य. सं. २०६१ : २०४) | सो आक्रमणमा तामाङराज्यको रक्षार्थ रेन्जेन दोर्जे राजासहित ३०० तामाङ युवायुवतीहरुको हत्या भएको थियो | यो नै तामाङको अन्तिम सत्ता थियो | मकवानपुरको बेतनी, खैराङ र टिस्टुङमा पनि तामाङराज्यहरु थिए | यस्ता सत्ताहरु र किपट माथि आधारित थिए | सन् १९१५ मा प्रकाशित मेजर सी. जे. मेरिसद्वारा लिखित “द गोर्खाज एन एन्थालोजी” मा बल, मोक्तान, स्याङ्बो र योन्जनहरुको २९ वटा किपटहरुको सुची उल्लेख थियो | महेश चन्द्र रेग्मीले लैण्ड टेन्यूर एण्ड ट्याक्सेसन सिस्टममा थमौती र खोसिएको थुप्रै किपटहरुका बारेमा जानकारी दिएका छन् | यो बास्तवमा प्राथमिक किसिमको सामुदायिक राज्यहरु थिए जसलाई “ग्रामिण गणतन्त्र” भन्न सकिन्छ भने “ग्याल्बो चुईनी” अर्थात बाह्रा तामाङ राजाहरुको एउटै वृत थियो जहा तामाङ राजाहरुले राज्य गर्दथे | जसलाई तामाङ राज्य अथवा “ताम्सालिङ” भनिन्थ्यो | तामाङराज्यको अस्तित्व कहा र कहिलेसम्म थियो भन्ने तल दिएको चार्टले अझ पुष्टि पर्नेछ | त्यसैले इतिहासमा कहिल्यै तामाङको राज्य थिएन र ताम्सालिङ भन्ने नै थिएन भन्नेहरुका लागि यो भन्दा केहि बताउनु पर्ला ?
साभार हाम्रो सोलु