काठमाडौँ सहर अब सौर्य बत्तीले झलमल्ल हुने

काठमाडौँ, असार १३ गते । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ । महानगरभित्रका मुख्यमुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने, उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । महानगरले काठमाडौँको सडक झिलिमिली बनाउनका लागि बीके ट्रेडर्स एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ ।
दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो । सो सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब ५० करोड रुपियाँको लागतमा प्रणाली जडान भइरहेको जानकारी दिनुभयो ।
महानगरलाई फाइदैफाइदा
उहाँका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी १० वर्षपछि महानगरको स्वामित्वमा आउनेछ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल आठ हजार सात सय रुपियाँ वार्षिक शुल्क र विज्ञापनबापत सात हजार दुई सय रुपियाँ महानगरलाई उपलब्ध गराउनेछ ।
त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ । हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् । हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउनुहुन्छ ।
१० मिनेट सामान्य रूपमा घाम लागे पनि राति बल्ने प्रणाली जडान भएको जानकारी दिँदै उहाँले हालसम्मकै अत्याधुनिक ‘सोलार सिस्टम’ प्रयोग भएको बताउनुभयो । वर्षाको समय कतिपय स्थानमा सडकपेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केही समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।
आफूहरूले प्राधिकरणसँग पनि समन्वय गरेर काम गरिरहेको र केही स्थानमा बत्ती जडानको समय विद्युत् कटौती गरेर भए पनि सहयोग हुने विश्वास राखेको उहाँको भनाइ छ । महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कृष्ण पाउरोटी चोक, ज्ञानेश्वर, गौशाला, पुरानो बानेश्वर, चाबहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ ।
त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु, नयाँ बसपार्क क्षेत्रमा चार सय बत्ती जडान गरिनेछ ।
दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौँ प्लाजा, कृष्ण पाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतीदेवी, बत्तीसपुतली सडकखण्ड, मैतीदेवी डिल्लीबजार पुतलीसडक खण्डमा ती बत्ती जडान हुनेछ ।
महानगरका प्रवक्ता कार्कीका अनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमूल पुल, तीनकुने, कोटेश्वर, जडीबुटी, नरेफाँट, पुरानो बानेश्वर, भीमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ ।
यसैगरी अनामनगर हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशाला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म दुई सय बत्ती जडान गर्ने लक्ष्य राखिएको छ ।
पुराना बल्न छाडे
काठमाडौँ उपत्यकामा चर्को विद्युत्भार कटौतीको समयमा नै सौर्य प्रणाली जडान गर्ने कार्य सुरु भए पनि विविध कारणले रोकिँदै आएको थियो । तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन
(सार्क)को शिखर सम्मेलनका क्रममा जडान भएका सौर्य प्रणाली बल्न बन्द भइसकेका छन् । उचित मर्मतसम्भारको अभावमा ती प्रणाली बन्द भएका हुन् ।
बन्द भएका बत्ती मर्मत गर्न लागिएको महानगरका प्रवक्ता कार्की बताउनुहुन्छ । सौर्य प्रणाली जडानपछि सडकबत्ती प्रयोग गरेबापत महानगरले तिर्नुपर्ने रकमसमेत कम हुने महानगरको विश्वास छ । तर, जथाभावी रूपमा सौर्य प्रणाली जडान गर्दा सहरी सौन्दर्य भने बिग्रने भन्दै सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।
सरकारले त्यस्ता प्रणाली हटाउन चाहे प्राविधिक मूल्याङ्कन गरेर आवश्यक निर्णय गरिने प्रवक्ता कार्कीको भनाइ छ ।