सरकार सद्दाम हुसेन भन्दा पनि क्रूर ढंगले अघि बढ्यो : ओली

काठमाण्डौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारलाई चेतावनी दिएका छन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा वम विष्फोट गराउने काम भइरहँदा समेत सरकार मौन रहेको उल्लेख गर्दैै आपत्ति पनि जनाए । प्रेस चौतारी, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको चौतारी–संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी कार्यक्रममै बम विष्फोट गराउने जस्ता अपराध कर्म गर्दा समेत सरकार मौन रहनु देश र जनताका लागि दुःखदायी घटना भएको पनि उल्लेख गरे ।
आईतबार ओली सहभागी बुटवलको चुनावी सभास्थल नजिकै बम राखिएको थियो । अध्यक्ष ओलीले सरकार सद्दाम हुसेन भन्दा पनि क्रूर ढंगले अघि बढेको आरोप पनि लगाए । उनले स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने दायित्व पुरा गर्न निर्वाचन आयोगसँग आग्रह गरे ।
अध्यक्ष ओलीले भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय कपिलबस्तुको चुनावी कार्यक्रममा सहभागी भएको भन्दै आपत्ति जनाए । उनले राजदुत जस्तो गरिमामय पदमा रहेर चुनावी कार्यक्रममा भाग लिन नसुहाउने टिप्पणी गरे । अध्यक्ष ओलीले राजनीति गर्ने भए उम्मेदवार बनेर आउन पनि राजदुत उपाध्यायलाई चेतावनी दिएका थिए ।
एमाले अध्यक्ष ओलीले आफना पार्टीका कार्यकर्तामाथि आक्रमण हुँदा समेत झडप भनेर समाचार सम्प्रेषण हुने गरेकोतर्फ संचारकर्मीहरुको पनि ध्यानाकर्षण गराएका छन् ।