श्रीराम राईले ल्याए बालकथा ‘टोली नेता’

काठमाडौं । साहित्यकार तथा लेखक श्रीराम राईको बालकथा ‘टोली नेता’ सार्वजनिक भएको छ ।
लेखक तथा कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने, नागरिक दैनिकका बालसाहित्य प्रमुख क्रान्ति पाण्डे, मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठलगायतले उक्त कृति सार्वजनिक गरे ।
कविता, लघुकथा लेखनमा समेत सक्रिय राईलिखित ‘टोली नेता’ उनको पहिलो पुस्तकाकार कृति हो ।
“राईका सिर्जनामा खोटाङको जनजीवन, रहनसहन, नदीनाला, हावापानी, प्रकृति चित्रण रहेको छ,” विमोचन कार्यक्रममा डा. पुष्करराज भट्टले भने, “राईका यी कथामा पात्र आफैं बोलेका छन् ।” साथै भट्टले सकारात्मकता राईको विशेषता रहेको बताए ।
यसैगरी कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेले संग्रहित कथाका प्लट राम्रो, भाषा सशक्त र सकारात्मकताको खोजी भएकोले बालबालिकालाई उत्तिकै पठनीय भएको बताए ।
गोरखापत्र दैनिकका त्रिभुवनचन्द्र वाग्लेले शब्द रमाइलो र ग्रामीण क्षेत्रको पाटोलाई समेटिएको बताए ।
यसैगरी साहित्यकार यमुना अधिकारी पराजुलीले संग्रहका यसअघि नै पढिसकेका यी कथाहरु पुस्तकाकारमा प्रकाशित भएकोमा खुसी व्यक्त गरिन् ।
सातवटा बालकथा समाविष्ट बि एन पुस्तक संसार प्रालिद्वारा प्रकाशित टोली नेताको मूल्य ९५ रुपैयाँ रहेको छ ।