विदेश बस्ने नेपालीले पूर्वाधारमा लगानी गर्न सक्छन् त ?

उपेन्द्र महतो, जीवा लामिछाने र शेष घले जस्ता केही व्यक्तिहरुको निजी सफलताको जगमा उभिएको एनआरएन अर्थात गैरआवासीय नेपाली संघ सम्बन्धित ठूला लगानी बारेका विभिन्न समाचारहरु धेरै जसो मलाई हास्यास्पद लाग्छन् । मेरो अज्ञानता हो या अरु नै केही अझ अमेरिकामा एनआरएनको नाममा ठूला ठूला लगानीको डिंग हाँक्नेहरु कुनै न कुनै राजनीतिक पार्टीसँग सम्बन्धित छन । यि निश्चित स्वार्थपूर्तिका लागि हिड्नेहरु सुनिएको र पढिएको जस्तो एनआरएनको पहलमा जलबिधुतको क्षेत्रमा अर्बौं लगानी नेपाल भित्र्याउने गफ हाँकिरहेकै छन् । तर, मेरो बुझाइमा यस्ता कुराको कुनै तुक छैन ।
यहाँ बस्ने अधिकाँश नेपालीलाई आफ्नो गुजारा आनन्दसँग चल्ने भएपुग्छ । मनग्य धन कमाउनेहरु औंलामा गन्न सकिनेछन् । केही व्यक्तिले ब्यापार गरेर राम्रै कमाएका पनि छन् । त्यो उनीहरुले निकै लामो समय र परिश्रम खर्चेर कमाएको धन हो । त्यसको लगानीका लागि उनीहरुले आफ्नो लगानी सुरक्षा खोज्छ नै । कुने किसिमको लगानी सुरक्षित हुने ग्यारेन्टी नभएको ठाउँमा त्यो धन बगाउन चाहदैनन् । यहाँ बस्नेहरुको वर्ग विभाजन यस्तो छ:
पहिलो वर्ग, नेपाल, युरोपीयन मुलुक र यतै कुनै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेका व्यक्तिहरु । यो वर्गमा डाक्टर, इन्जिनियर र आइटीका जानकारहरु पर्छन् । विश्वविद्यालयमा अध्ययन अनुसन्धान गर्नेदेखि कुरियर कम्पनीमा तथ्याङ्क सङ्कलन गर्नेसम्मको काम गरे पनि उनीहरु मेचमा बसेरै काम गर्छन् । यस्तो वर्गका नेपालीहरुको आफ्नो बेग्लै समाज छ र उनीहरु त्यो समाजभित्र मात्र सम्पर्कमा रहन चाहन्छन् । नेपालको बारेमा खासै मतलब नगर्ने र कमाएको धन सम्पति यतै उपयोग गर्ने विचार भएका यिनीहरु आफ्नो ब्यापार भन्दा पनी नोकरी गर्छन् । जतिसुकै धेरै तलब भएपनि एकै पटकमा अर्बौंको लगानी उनीहरुको लागि सहज नभएको मात्र होइनऽ असम्भव पनि छ । यो वर्गमा आफ्नो सानो/ठुलो व्यापार गरेर आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरु पनि पर्छन् । यिनीहरुलाई पनि दुख सुख गरेर कमाएको पैसा नेपालमा लगानी गर्ने कुनै रुचि होला जस्तो लाग्दैन । एउटा सानो ब्यवसाय सुरु गर्नसाथ चन्दा, युनियन र हड्ताल जस्ता बिकृतिले छोप्ने ठाउँमा रगत पसिनाको कमाई लगानी गरेर बालुवामा पानी हाल्ने सोख कसैमा होला जस्तो मलाई लाग्दैन । साथै यिनीहरुलाई अनावश्यक काममा अल्झिरहने न त रुचि छ न त समय नै ।
दोस्रो वर्ग, आफू संलग्न पेशाको परिचय सदुपयोग वा दुरुपयोग गर्दै अनेकौँ तिकडम गरेर यहाँ पुगेहरु । उनीहरु यहाँ आउने र बस्ने पटक्कै मन नभएको जस्तो अभिनय गर्छन् । आफुले नेपालमा गरेको पेशाको ‘ह्यांगओभर’ले नछोडेका व्यक्तिहरु हुन् तिनीहरु । प्राय घण्टाको हिसाबमा दैनिक आठ देखि दस घण्टा काम गरेर हप्तामा अधिकतम् पाँच सय डलर आर्जन गर्ने व्यक्तिले कति बचत गर्न सक्छ र कति लगानी गर्न सक्छ भन्ने कुरा सबैले बुझेकै कुरा हो । नेपालमा केही माखो मार्न नसकेर अर्थात् बेरोजगारी जीवन बिताएका, छोरा छोरीको स्कुलको फिस तिर्न नसकेर स्कुलले बच्चा स्कुलमै बन्द गरेर राखेको घटना भएका, आफुले खाएको रासनको पैसा तिर्न नसकेर किराना पसलेले घाँटी समातेका र नेपाल प्रहरीको फरार सुचिमा रहेको तर पक्राउ नपर्दै अमेरिका पस्न पाएकाहरु पनि एनआरएन भनेर सक्रिय भइरहेको देखेको छु । उनीहरुबाट के आशा गर्न सकिन्छ र ?
तेस्रो वर्ग, यहाँ बसेर नेपालको अर्थहीन राजनीति गर्ने वर्ग हुन् यिनीहरु । आफु दिनभरी बिनाकाम हल्लेर श्रीमती र छोराछोरीलाई काम गर्न लगाएर दिन बिताउनेहरुले नेपालमा गएर लगानी गर्ने गफ गर्नु भनेको असंभव कुरा गर्नु नै हो । यस्ता व्यक्तिहरुले केही मध्यस्त गर्न सक्लान । तर, आफैले लगानी गर्ने भनेको त्यति विश्वास गर्न सकिन्न ।
अन्तिम अर्थात् चौथों वर्ग, वर्गले दिनको चौध घण्टासम्म काम गरेर बुझेको पैसा सर्लक्क नेपाल पठाउँछन् । यिनीहरुको कमाई नेपालमा ब्यापार गर्ने भन्दा पनि घर बनाउने, घर भएकाहरुले तल थप्ने र खाने, लगाउने जस्ता उपभोग कार्यमा खर्च हुन्छ । यिनीहरुबाट पनि ठुलो लगानी संभव छैन ।
अन्तमा, एनआरएनले नेपालमा जलश्रोतलगायतका पूर्वाधारको क्षेत्रमा लगानी गर्ने भन्ने एपिसोड नै मेरो विचारमा बेकार छ । अमेरिका वा अन्य जुनसुकै स्थानमा बस्ने अधिकांश नेपालीहरु यहाँको स्तरमा निकै सानो काम गरेर जीविका चलाउनेहरु हुन् । यो पंक्तिकार पनि कुनै अपवाद होइन । दुई चार जना राम्रै कमाई भएका पनि छन् । तर, उनीहरुलाई नेपालमा लगानी गर्ने कुनै इच्छा पनि छैन र बालुवामा पानी हालेको जस्तो नेपालमा लगानी गर्नुको कुनै औचित्य पनि देख्दैनन् । एउटा सानो पसल खोल्दा त सबै राजनीतिक पार्टीको मजदुर इकाई खोल्नुपर्ने बाध्यता रहेको मुलुकमा लामोसमयको श्रम र पसिनाको कमाई लगानी गरिहल्न सक्ने अवस्था देख्दिन । लगानीको सुरक्षा कसले गर्ने ? सरकार भएको वा नभएको कुनै टुंगो नै नभएको देशमा लगानी गर्नुभन्दा त्यो पैसालाई पोको पारेर आगो लगाउनु नै ठीक हुन्छ जस्ता विचार राख्नेहरु पनि छन् । समग्रमा भारतीय र पाकिस्तानीको किराना पसलमा घण्टा हानेर (जति घण्टा काम गर्यो त्यति नै पैसा पाइने) नेपालमा लगानी गर्छु भन्नु दिवा स्वप्न मात्र हो ।
यो ब्लगको उद्देश्य नेपालमा लगानी गर्नु राम्रो होइन र लगानी गरिसकेकाहरुलाई दुरुत्साहित गर्न पनि होइन । तर, बिदेश बस्ने नेपालीको यथार्थता जानकारी गराउनु हो । यो ब्लग पढ़िसकेपछि कोही कसैलाई आफ्नै मर्ममा प्रहार भएको जस्तो लागेमा त्यो केवल संयोग मात्र हो । कतिको तर्फबाट नकारात्मक प्रतिक्रिया पाउने पक्का छँदैछ । तर, सकारात्मक सोचको साथ कमीकमजोरी औँल्याउने प्रबुद्ध पाठकहरुको प्रतिक्रिया तथा मार्गदर्शन पाउनुलाई म अहोभाग्य सम्झिउने छु ।
-नवीन रायमाझी