नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त प्रेस वक्तव्य

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त प्रेस वक्तव्य जारी गरेको छ | पूर्ण अंश :
१. वर्तमान संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधन लगायतका विषयहरुमा नेपाल सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं । साथै देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं ।
२. वर्तमान स्थानीय निर्वाचनमा अग्रगामी परिवर्तनकारी शक्तिहरुलाई मजबुत बनाउन तथा स्थानीय तहबाट विकास र समृद्धि तथा सुशासनका लागि अगाडि बढ्न हामी दुई दलहरु पहिलो चरणदेखि नै गठबन्धन/तालमेल गर्दै आइरहेका छौं । आगामी दोस्रो चरणको निर्वाचनमा पनि त्यसलाई कायम राख्दै अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
३. यसरी नै मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिने समेत सहमति भएको छ । त्यसकालागि जिम्मेवारीपूर्वक पहल गर्न सबै पक्षसँग हार्दिक आग्रह गर्दछौं ।
२०७४ जेठ २८
––––––––––––––––––––––
(उपेन्द्र यादव)
अध्यक्ष,
सङ्घीय समाजवादी फोरम, नेपाल
––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक,
नयाँ शक्ति पार्टी, नेपाल