अनीता लामा तामाङ भइन् मिस मंगोल
जेष्ठ २९, २०७४- मिस मंगोल नेपाल २०१७ को उपाधि सिन्धुपाल्चोककी १७ वर्षीया अनीता लामाले चुमेकी छन् । राजधानीमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा उनले मुलुकभरका २९ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष उपाधि उछिनेकी हुन् । मिस पङ्चुअलको उपाधिसमेत पाएकी उनले ताजसँगै एक लाख रुपैयाँ हात पारिन् ।
उनलाई पछ्याउँदै बागलुङकी २३ वर्षीया खुसी मगर र धरान सुनसरीकी १८ वर्षीया श्वेता थापामगर क्रमश: फस्ट र सेकेन्ड रनरअप भए । खुसीले मिस फोटोजेनिक अवार्ड पनि पाइन् । दुवैले क्रमश: ताजसँगै ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ पाए । रसुवाकी भूमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बू मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिस्सिप्लिन, सुनसरीकै महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बागलुङकी करुना पुन मिस ट्यालेन्ट घोषित भए ।
एक्सन इन्टरटेनमेन्टले गरेको प्रतियोगिताको यो नवौं संस्करण हो । अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना, बैंकर जोसेफ सिल्भानस, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, अभिनेता भुवन केसी, चलचित्र निर्देशक मिलन चाम्स एवं अभिनेत्रीद्वय सरिता लामिछाने र दिया पुन रहेको निर्णायक मण्डलले विजेता छनोट गरेको हो । प्रतियोगितामा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।