एक वर्षदेखि ६५ वर्षीया तामाङलाई बाँधेर राखेको पाइयो

काठमाडौँ, जेठ २५– मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको छ ।
प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलेले आज उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो ।
“मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन्” – तामाङकी छिमेकी वसन्ती रानाभाटले भनिन् । उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयवासीको सहभागितामा उद्धार गरेको हो ।
मानवअधिकारकर्मी दुर्गानाथ दाहालले परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न समस्या भएका कारण घरमै बाँधेर राखिएको हुँदा आफूहरूले उद्धार गरेको बताए ।