घूससहित गाउँपालिका प्रमुख नियन्त्रणमा

काठमाडौं, २४ जेठ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ४१ हजार रुपैयाँ घूस रकमसहित सिन्धुलीका दुर्ई गाउँपालिकाका प्रमुखलाई नियन्त्रणमा लिएको छ । अख्तियारले मङ्गलवार गोलानजोर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भोलाकुमार आले र फिक्कल गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सतिश भट्टराईलाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।
गोलानजोर गाउँपालिकाका प्रमुख आलेलाई १ लाख ५१ हजार रुपैयाँ र फिक्कल गाउँपालिकाका प्रमुख भट्टराईलाई ९० हजार रुपैयाँ घूससहित अख्तियारले नियन्त्रणमा लिएको हो । घूस रकम लिंदै गर्दाको अवस्थामा अख्तियारले ती कर्मचारीलाई सिन्धुलीकै कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित नगरपालिकाको कार्यालय नजिकै रहेको सेवाग्राहीको पसलबाट नियन्त्रणमा लिएको हो ।
सोलार कन्स्ट्रकशन एण्ड इनर्जि प्रालि, इटहरीमार्फत सिन्धुलीका ती गाउँपालिकामा सोलार जडानको कार्यपश्चात सेवाग्राहीले भुक्तानी माग गर्दा सो क्रममा ती कर्मचारीले घूस लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीबाट घूस लिने दुवैजना कर्मचारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।