भारतले ६४० टनको ‘फ्याट ब्बाय’ सफल प्रक्षेपण गर्यो

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले सोमबार मुलुकको सबैभन्दा गह्रौं रकेट जीएसएलवी मार्क ३–डी १ का माध्यमले सबैभन्दा गह्रुंगो सञ्चार उपग्रह जीसेट–१९ लाई आन्ध्रप्रदेशको श्रीहरिकोटाबाट सफलतापूर्वक अन्तरिक्षको कक्षमा स्थापित गरेको छ । यो उपलब्धिसँगै भारतले एकै पटकमा सफल परीक्षण गर्न सक्दैन भन्ने अन्धविश्वास तोड्न इसरो सफल भएको समाचारमा जनाइएको छ ।
६४० टनको ‘फ्याट ब्बाय’ भनिने जीएसएलवी मार्क–३ रकेटले प्रक्षेपणको करिब १६ मिनेटपछि एडभान्स कम्युनिकेसन स्याटेलाइट जीसेट– १९ लाई कक्षामा स्थापित गरेको थियो । यसबाट परीक्षण सफल होला कि नहोला भन्ने आशंका समाप्त भएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले यो सफलताका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिएका छन् । यो उपकरण ‘मेक इन इन्डिया’ अन्तरिक्ष परियोजनाअन्तर्गत निर्माण गरिएको हो र यसमा प्रयोग भएका सामग्री, डिजाइन र प्रौद्योगिकी सबै भारतमै बनेका हुन् ।
यो सफलतासँगै भारत रुस, युरोपेली देश, अमेरिका, जापान र चीनपछिको गह्रुंगो रकेट प्रक्षेपण गर्ने देशहरूको क्लबमा छैटौं सदस्य बन्न पुगेको छ ।