कहाँ पुर्याउला ओलीको उग्र राष्ट्रवादले ?

पञ्चायतकालीन जटिल समयमा माक्र्सवादी –लेनिनवादी (माले) पार्टीको गठन भएको थियो । निरंकुश पञ्चायतको कठोर कालमा झापाली माक्र्सवादीहरूले शसस्त्र विद्रोह गरी सामन्त र जमिनदारहरूलाई सशक्त जनकारबाही गरेका थिए ।
बहुदलीय व्यवस्था सुरूवातको समयमा मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी र मदन भण्डारीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट माक्र्सवादी –लेनिनवादी पार्टीबीच पार्टी एकता भएर हालको नेकपा (एमाले) निर्माण भएको हो । संयुक्त पार्टी नेकपा (एमाले)को अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारी गर्नुभयो । एमाले निमार्ण कर्ता यी दुवै नेताको हाल स्वर्गारोहण भईसकेको छ ।
एमालेलाई हालको शसक्त पार्टी निमार्णका निम्त तत्कालीन महासचिव मदन भण्डारीले लेनिनवादी संगठन संरचनामा विकाश गर्नु भयो । उहाँले पार्टीलाई वैचारीक –राजनैतिक प्रष्टता कायम गरी जनताको बहुदलीय जनवादमार्फत लेनिनवादलाई नेपाली भूमिमा सिर्जनात्मक प्रयोग गरी नयाँ दिशानिर्देश गर्नु भयो । एमाले नेताहरू हालसम्म पनि यसैलाई पार्टीको मार्गदर्शन मान्दछन ।
लेखक आचार्य
जनताको बहुदलीय जनवाद राजतन्त्रको समयमा सिर्जना भएको मौलिक दस्तावेज हो । त्यति बेला यो दस्तावेज गणतन्त्र र धर्मबारे मौन थियो । सत्ताको अधिकतम उपयोग गर्नेबारे दस्तावेज प्रष्ट छ । यसले जनतालाई सार्वभौम पनि मानेको छ । समाजवादी राज्य निमार्णभन्दा पुँजीवादको चरम उपयोगबारे दस्तावेजमा व्याख्या गरिएको छ । दस्तावेज थोरै क्रान्तिकारी र धेरै दक्षिणपन्थी सारसंग्रहवादी ढाँचाको छ । तत्कालीन समयमा लेनिनवादमा आधारीत कम्युनिष्ट पार्टीले गरेको यो अभ्यास नयाँपन हो ।
मदन भण्डारीको आदर्शलाई पूर्णविराम लगाउँदै, एमाले नेताहरू सत्ताका लागि राजाको प्रत्यक्ष शासनकालमा ‘प्रतिगमन आधा सच्चिएको’ अभिव्यक्ति दिँदै सरकारमा सहभागी भए । जनआन्दोलनको समयमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालमा गणतन्त्र आउनु भनेको वयल गाडा चढेर अमेरीका जानु बराबर हो’ भन्दै सडकमा उत्रिएका जनताहरूको अपमान गरे ।
जनआन्दोलन सम्पन्न भयो, संसद पुनस्थापना भयो र संविधान सभाको चुनाव पनि सम्पन्न भयो । पहिलो संविधानसभाको चुनावमा जनताले आफ्नो मत परिवर्तन पक्षधर गणतन्त्रवादीलाई सम्मानस्वरूप दिए । जनताले एमालेलाई तेस्रो शक्तिमा खुम्चाइदिए । एमालेका शीर्ष नेताहरू हराएर वितमा गरेका गल्तीहरूको महशुस गर्नतिर लागे । ।
माओवादी जनयुद्व र जनआन्दोलनको जगमा मुलुकमा गणतन्त्र स्थापना भएको लगभग एक दशक पूरा भएको छ । संविधानसभाबाट समावेशी संविधान जारी भएको छ । संविधान घोषणा भएसँगै एमाले अध्यक्ष केपी ओली सत्ताबाट चिप्लीएपछि मुलुकका जिम्मेवार नेताहरू प्रचण्ड र शेरबहादुर देउवाप्रति आलोचना र उखान टुक्काको तीर बाण चलाइरहेका छन् ।
नेपालका राजनीतिक दललाई गुटबन्दीले आक्रान्त बनाएको छ, यसबाट एमाले अछुतो छैन । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल यति बेला शान्त छन । उनको मौनताले एमाले पार्टीको वैचारीक धार कमजोर भएको छ । उनको अनुपस्थितिमा पार्टीभित्र अंहकार र घमण्ड भरिँदै गएको छ । एमाले पार्टी बिस्तारै उग्रपन्थी हँुँदै छ । नेताहरू माक्र्सवाद –लेनिनवादमा आधारीत अभिव्यक्तिभन्दा निम्न पूँजीवादी आलोचनमा रमाउने गरेका छन् । नेता नेपाल सेलाउँदा एमाले रूपमा शक्तिशाली देखिए पनि सारतः सैद्धान्तिक रूपमा भुत्ते हुँदै गएको छ ।
प्रतिकुलतामा सामान्य विषय पनि तिललाई पहाड बनाएर दन्त बजान गर्ने, अनुकुलतामा शान्त बस्ने अवसरवादी चरित्र वर्तमान नेपाली राजनीतिको मूख्य समस्या हो । कार्यपालिकालाई बेवास्ता गर्दै सर्वोच्च अदालतको निर्णय आफू अनुकुल थियो विरोध भएन । संसदीय सर्वोच्चताको कुरा गर्ने एमालेहरु अदालतको हस्तक्षेपप्रति मौन छन् । निर्वाचन आयोगले भरतपुर महानगरमा पुनः चुनाव गर्ने निर्णयको बाह्र हात माथि उफ्रेर विरोधमा एमाले नेताहरू उत्रिरहेका छन् ।
एमाले अध्यक्ष केपी ओली यति बेला तीव्र आलोचना र समर्थनको शिखरमा छन । लामो जेल जीवन भोगेका ओली संघर्षशिल व्यक्ति हुन् । ओलीले आफ्ना तर्क विपक्षलाई सिधै निशानी गर्दछन् । ओलीबाट आम सचेत युवाहरू एमालेलाई माक्र्सवाद र लेनिनवादको नेपाली मौलिकताको बारेमा प्रशिक्षण सुन्न आतुर छन । तर आम युवाहरूको अपेक्षा विपरीत ओलीका उखान टुक्का समस्या समाधनन गर्ने भन्दापनि अरुलाई होच्याउने तर्फ उघत छन् । ओलीबाट मुलुकले समस्या होईन समाधान चाहेको छ । देश बनाउने योजना खोजेको छ । उनीबाट मुलुक समृद्ध बनाउने बहुदलीय जनवादको नयाँ परिभाषाको अपेक्षा गरिएको छ ।
एमालेले विगतमा बृद्धभत्ता कार्यक्रमको शुरुवात भयो, यसको पर्याप्त प्रशंशा भइसकेको छ र यसैको व्याज एमालेले खाइरहेको छ । वृद्व भत्ताको योजना ठीक छ, तर दैनिक सयौं विदेश जाने युवाहरूका लागि स्वदेशमा रोजगार हुने कार्यक्रम ल्याउन एमाले किन मनासिव ठान्दैन ? के अरुलाई होच्याउने गाली सुनेर नेपालका युवाको जीवनमा परिवर्तन आउँछ ?
अहिले पहाडमा चलेको ओली राष्ट्रवाद एउटा सम्प्रदायले खुव मन पराउँछन् । उनको यो पहाडे राष्ट्रवाद मधेशप्रति जहिल्यै तितो ओकल्दै आएको छ । ओलीको यो राष्ट्रवादले देशलाई कता पुर्याउला ? यो अहिल्यै ठोस यकिन गर्न सकिन्न तर, ओलीको यो पहाडे राष्ट्रवादको विषाक्त लहरा अरु बढ्दै गएको खण्डमा यसले मुलुकलाई हित पक्कै गर्नेछैन ।
मधेशका नागरिक मर्दा ‘आँप झरेको’ या मधेशको मानव साङ्लोलाई ‘माखे साङ्लो’ भनेको होइन भनेर ओलीले पटक पटक स्पष्टीकरण दिदाँपनि मधेशी जनताको मनमस्तिकमा बिजेको त्यो तीर अमेधी जनताले बिर्षन चाहादैनन । खासमा एउटा पार्टीको अध्यक्ष र पूर्वप्रधामनन्त्री ओलीले मधेशप्रति आक्रोश पोख्नु जायज थिएन ।
हाम्रो राष्ट्रवाद समग्र हिमाल, पहाड र मधेश समेट्ने हुनुपर्छ । बिखण्डकारी विभेद गर्ने माक्र्सवादी बर्ग संघर्षको नियम होईन । सबै जातजाती, भाषाभाषी र रीतिरिवाज समेट्ने प्रगतिशिल राष्ट्रवाद आजको आवश्यकता हो । हाम्रो देश सयौं थरिका फूलहरूको मिश्रित मधेश –पहाड –हिमाल साझा फूलवारी हो । यो मर्म बुझ्न आवश्यक छ । उत्तेजनामा आएर कुनै जात र भूगोल विशेषप्रति पोखिएका क्षणिक आक्रोशले समस्या समाधान गर्ने भन्दा बल्झाउन मलजल गर्छ भन्ने कुरालाई कसरी नजरअन्दाज गर्न सकिएला ?
(लेखक आचार्य माओवादी केन्द्रसंग आबद्ध छन्)