एमाले ! सडक र सदनमा रमिता होइन, पुनःमतदानमा तयार होउ

काठमाडौं, जेठ २१ – भरतपुरमा जे नहुनुपर्ने हो, भैसक्यो । मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिन हुन्नथियो, च्यातियो । हार्ने अवस्था देखिएकाले फेरि चुनाव गराउनकै लागि मतपत्र च्यातिएको रहेछ भन्ने बलियो आधार हुँदाहुँदै आयोगले पुनःमतदानको निर्णय गर्न हुँदैनथियो, गरिसक्यो । गलत नजिर स्थापित गर्ने गरी कानुन बनाउन हुँदैनथियो, पहिल्यै बनिसक्यो ।
एमालेसहित विश्लेषक र अरु नागरिकले जतिसुकै बिरोध र असन्तुष्टि जनाए पनि अब दुईवटा विकल्प मात्रै बाँकी छन् । एउटा निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार, अर्को आयोगको निर्णयअनुसार पुनःमतदानमा सहभागिता । अनि भविष्यमा मतपत्र च्यात्ने आँट कसैले गर्न नसक्नेगरी बलियो कानुनको निर्माण ।
एमालेले आयोगको निर्णयविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरिसकेको छ । कानूनी उपचारको बाटो हुँदाहुँदै अहिले सडकमा प्रदर्शन र सदनमा अवरोध गर्नुको औचित्य छैन । आयोगको निर्णय आउनुअघि सडक र सदनबाट दबाब दिनु ठिकै थियो होला । तर त्यो दबाबले काम गरेन, आयोगको निर्णय आइसक्यो । अब आयोगको निर्णय सदन र सडकको दबाबले उल्टाउन सक्दैन । अदालतले मात्र सक्छ ।
सम्भवतः आइतबार एमालेको तर्फबाट अदालतमा मुद्दा दर्ता होला । मुद्दा दर्ता भैसकेपछि अदालतले एउटा फैसला गर्छ नै । फैसला एमालेले भनेअनुसार आउनपनि सक्छ, नआउन पनि । अदालतले आयोगको निर्णयलाई सदर गर्यो भने भरतपुर–१९ मा पुनःमतदान हुन्छ । यस्तो अवस्थामा एमालेले के गर्छ ? पक्कै पनि पुनःमतदानमा सहभागिता जनाउनुको विकल्प छैन ।
पुनःमतदान हुँदा यसअघि एमालेलाई आएजस्तो मत नआउन पनि सक्छ, सोचेभन्दा बढी पनि आउन सक्छ । एमालेका नेता कार्यकर्तालाई समेत राम्रोसँग थाहा भएको कुरा हो, भरतपुरमा देवी ज्ञवालीलाई अहिले आएको मत एमालेको मात्र होइन । माओवादी केन्द्रसँग तालमेल गर्ने पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टी जनाएका धेरै कांग्रेस कार्यकर्ताको मत समेत मिसिएको छ ।
अनि भरतपुर–१९ कांग्रेसको बाहुल्यता रहेको वडा हो । यहाँबाट रेणु दाहाललाई धेरै मत आउने कांग्रेस र माओवादीको अपेक्षा थियो । मतगणना अन्तिम चरणमा पुग्दा उनीहरुले अपेक्षा गरे अनुसार मत देखिएन । मतान्तर घट्दै गएपनि देवीकै जित देखियो । बाँकी २० नम्वर वडा गनिसक्दा थोरै मतले देवीले जित्ने सम्भावना देखेकै कारण पुनःमतदान गराउनेगरी माओवादी प्रतिनिधिले योजनाबद्ध रुपमै मतपत्र च्यातेका हुन् भन्ने पुष्टि भैसकेको छ ।
अब पुनःमतदान हुँदा कांग्रेस र माओवादीले कुनै हालतमा आफ्नो मत एमालेको पोल्टामा जान दिँदैनन् । असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास गर्नेछन् । १९ नम्वर वडामा रहेको कांग्रेसको एउटा पनि मत देवीलाई पर्न नदिन उनीहरुले सकेजति गर्नेछन् ।
तर यति हुँदाहुँदै पनि एमालेलाई मतदातामा गएर गलत नजिरको भण्डाफोर गर्ने अवसर प्रशस्त छ । पुनःमतदान हुँदैमा रेणुले नै जित्छिन् भन्ने पनि छैन । मतपत्र च्यात्ने गलत प्रवृत्ति र निर्वाचन आयोगको निर्णयविरुद्ध सडक र सदनमा गरिएको क्रियाकलाप छाडेर भरतपुर–१९ का मतदातासामु जाने हो भने फेरि एमालेले देवीको पक्षमा मत बढाउन पनि सक्छ ।
त्यसमाथि पुनःमतदानबाट देवीले हारे भने पनि नैतिक रुपमा उनले जितिसकेका छन् । प्रमुख दुई सत्तारुढ दल कांग्रेस र माओवादी मिल्दा पनि देवीले अहिलेसम्म अग्रता लिइरहेका छन् । रेणुले मतान्तर घटाउँदै लगेपनि देवीको मत देखेर कांग्रेस र माओवादीका शीर्ष नेताहरु नै झस्किएका छन् । देवीले समेत भनेका छन्–मेरो प्रतिष्पर्धा रेणुसँग होइन, प्रचण्ड र देउवासँग हो । यस्तै हो भने देवीले आफू प्रचण्ड र देउवाको बलियो प्रतिष्पर्धी हुन् भनेर पुष्टी गरिसकेका छन् ।
जित्ने सम्भावना हुँदाहुँदै पुनःमतदानपछि हारे भनेपनि देवीले जितेकै सरह हुनेछ । प्राविधिक रुपमा रेणुको जित होला । तर नैतिक रुपमा देवीको समेत जित हुनेछ । ‘पुनःमतदान नभएको भए देवीले जित्थे, कांग्रेस र माओवादीले त धाँधली गरेर, मतपत्र च्यातेर फेरि चुनाव गराएर जितेका हुन्’ भनेर मतदाताले समेत भन्नेछन् ।
त्यसैले पुनःमतदानमा जाँदा र त्यसबाट जुनसुकै परिणाम आउँदा पनि एमालेले चित्त बुझाउने ठाउँ छ । आवेश र आक्रोशमा अहिले सदनमा अवरोध र सडकमा प्रदर्शन गर्नुको औचित्य छैन । पहिलो चरणको स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको दल, अनि जिम्मेवार प्रतिपक्षको नाताले बेलैमा सुझबुझपूर्ण कदम चाल्नु उचित देखिन्छ ।
-मिलन तिमिल्सिना/उज्यालो ।