रेणु दाहालले हारेकै राम्रो ! तर …किन ?

संसदीय राजनीतिमा तालमेल हुन सक्छ । चुनावी तालमेल कुनै अपराध होइन बरु तालमेल भनेको सँधै कुकुर–बिरालो जस्तो गरेर लडिरहने पार्टीहरुले साझा उम्मेदवार उठाएर एकले अर्काको अस्तित्व स्विकारेको देखिनु हो । यो सभ्य, सुसंस्कृत अनि ब्यबहारिक राजनीति हो । पार्टीहरुबिच देखिएका मतभेदहरु हल भएको संकेत हो ।
नेपालको राजनीतिमा दुईवटा ध्रुवको प्रतिनिधित्व गर्ने दुई ठुला शक्तिहरु काङ्ग्रेस र माओबादी केन्द्रले भरतपुरमा मेयर पदमा साझा उम्मेदवार उठाएर एकले अर्काको राजनीतिक अस्तित्व स्विकारेको जनाउ दिएका छन् ।
यस्तै तालमेलहरु सबैले गर्न सक्नु पर्छ, देशैभरी हुनुपर्छ ।
शंका, अविश्वास र मतभेदको सुईलाई ह्वात्तै तल झार्नु पर्छ । कांग्रेस र माओबादी केन्द्रले देखाएको यो बाटोमा नयाँ र युवापुस्ताको धड्कन भनिएका साना दलहरु हिँड्न चाहेनन् । काठमाडौं महानगरपालिकामा बिबेकशील र साझा पार्टीको तर्फबाट दुई फरक फरक उम्मेदवार उठाएर उनीहरुले आफ्नो छुट्टाछुट्टै जनमत मापन गर्न त सफल भए, तर ब्यबहारिक सफलता पाउन सक्ने चाहिँ देखिएन । त्यसको अंकगणितिय परिणाम हाम्रो सामु छताछुल्ल छ ।
कुनै पनि कुराहरु गुदीबाट नबुझीकन सतहबाट हेरेर अनुमान वा अन्दाजको भरमा सस्तो निष्कर्ष निकाल्ने प्रवृत्तिलाई सामाजिक संजालले मलजल गरिरहेको छ । भरतपुरको निर्वाचन परिणामले धेरैको धड्कन बढाएको पनि छ र धेरैको ज्यान चिसो पनि बनाएको छ । हुन त यो जनता बढी चनाखो भएको प्रमाण पनि हो ।
तर सतहमा आएर जसजसले बोक्रे तर्कको माध्यमबाट काङ्ग्रेस र माओबादीको यो तालमेललाई अपराध देखाएर आफ्नो नीच तुष्टि पूरा गर्ने ध्याउन्नमा छन् उनीहरुले आफ्नो उर्जा यसलाई आलोचना गर्नमा बिताउने होइन, यसको राम्रो पक्षलाई आत्मसात गर्नुमा खर्च गर्नुपर्छ ।
एकै दिन दुई फरक फरक समाचार आउँछ, एउटाले भन्छ ‘झलनाथको छोराले भैरहवा अन्तर्रा्ष्ट्रिय बिमानस्थलको ठेक्का प्रक्रियामा घोटाला गरे’ र अर्कोले भन्छ, ’प्रचण्डले आफ्नी छोरीलाई मेयर बनाउनको लागि नैतिकता बन्धक राखे’ । जनताबाट चुनिनु नै राजनीति गर्नेहरुको लागि राजनीतिक सफलता हो । ठेक्का, अनियमितता र घुसखोरीमा रमाउन चाहनेहरु चाहिँ कहाँ कहाँ नयाँ आयोजना बन्दै छ भनेर खोज्दै हिँड्ने हो । माथिको दुईवटा मिडिया हेडलाइनहरुबाट नै यस आलेखका पाठकहरुले धेरै कुरा बुझ्नुहुनेछ ।
रेणु दाहालको अपराध चाहिँ के हो ? के प्रचण्डको छोरी भएर जन्मिनु उनको कमजोरी हो ? चुनावको परिणाम सार्वजनिक हुँदै गर्दा आउने जायज शंकाहरुको निवारण गरिदिनुपर्ने काम अवश्य नेताहरुको हो, तर मनोगत र आक्षेपपूर्ण प्रतिक्रियाहरु बजारमा यसरी आईरहेका छन कि रेणु दाहालले केही मतले अग्रता लिनु पाप हो ।
उनले हार्नै पर्छ, उनले जितिन भने संसारमा प्रलय हुनेवाला छ । धर्ती माथी र आकाश तल भास्सिनेछ । धेरैले आफ्नो कन्चटका नशाहरु फुलाएर एकोहोरो रेणु दाहाललाई गाली गरिरहेका छन् । ब्याक्तिगत कुराहरु राख्न सामाजिक संजालमा छुट छ । आजकल त्यो स्वतन्त्रतालाई मान्छेले शर्त सहितको बन्धक राखेका छन् । त्यो शर्त हो रेणुले जसरी पनि हार्नै पर्छ ।
अब आउँ नियतको प्रश्नमा । निर्वाचन आयोगको नियमावलीले रेणु दाहाललाई अयोग्य उम्मेदवार भनेको भए कुरै समाप्त हुन्थ्यो । उनी योग्य उम्मेदवार हुन, पेशाले उनी आजसम्म उनी संघर्षशील राजनीतिज्ञ हुन् । एउटी महिला हुन, अरु बेला राजनीतिमा महिला सहभागिताको कुरा गर्ने र नारी अधिकारको कुरा गरेर नथाक्नेहरु पनि अहिले रेणुको बिरुद्धमा बोलिरहेका भेटिन्छन ।
सुन्दा र पढ्दा मीठो लाग्ने नारीका दुखका कथाहरुबाट समाज परिचित छ, तर त्यसको ब्यबहारिक कार्यान्वयनमा चाहिँ सबैको मतभेद किन रहन्छ ? नियतमा प्रश्न उनको बरु गर्न नमिल्ला, तर योजनाका साथ उनलाई हराउन र हतोत्साहित गराउन लाग्नेहरुको नियतले एकदिन आफ्नै आत्माको कठघरामा बयान दिनुपर्ने छ ।
चुनावमा हार या जीत हुनुले आकाश पाताल एक बनाउँदैन । यो स्थानीय तहको निर्वाचनमा देशभर लगभग ३६ हजार उम्मेदवारहरुले जित्छन र त्यसको तेब्बर संख्या भन्दा बढीले हार्छन । रेणुले जित्नु पनि स्वाभाविक हो र हार्नु पनि स्वाभाविक हो । सामान्य र स्वाभाविक कुराहरुमा छिटो ‘ओभर रियाक्ट’ गर्ने हाम्रो बानी बढी संवेदनशील र अस्वाभाविक छ । सक्छौं भने सुधारौं ।
मत बाकसमा छन् यसको अर्थ उनको समर्थन गरेर लेख्दैमा या बिरोध गरेर लेख्दैमा बाकसका मतपत्रहरुले रातारात रंग बदल्दैनन । यहाँ खाँचो देखियो स्पष्ट बोल्नेहरुको । हुन त आजकल कुनै पनि संवेदनशील कुराहरुमा बोल्दा बिचार पुर्याउनुपर्छ, त्यसले बोल्नेहरुको ‘पपुलारिटी ग्राफ’मा हलचल ल्याउँछ । अलिअली जानेबुझेकाहरुले पनि कुरा चपाउन थाले भने देखि मान्नुपर्छ, परिस्थिति सहि दिशातर्फ छैन ।
उनी प्रचण्ड पुत्री हुन्थिनन भने उनलाई कसैले आँखा गाड्ने थिएनन । उदाहरणको रूपमा पोखराको मतपरिणाम हेर्दा थाहा हुन्छ, त्यतापट्टी धेरै कम मान्छेको ध्यान छ । बामदेवलाई प्रधानमन्त्री बनाईदिने शर्तमा रेणुलाई जिताउने या त्यसको परिणाम हेरेर मात्र प्रचण्डले राजिनामा गर्ने भन्ने आधारहीन तर्कहरु ’घाम तर्क’ हुन, यिनिहरुलाई घाममै सुकाइदिनु बेश हुन्छ ।
प्रचण्ड सरकारमा आउँदा आउँदै लोडसेडिङ हटाएको र जाँदाजाँदै सफल चुनाव गरेको नजिकबाट देखिएको छ । हुन त राष्ट्रको कार्यकारी प्रमुखको काम नै यहि हो, यसलाई देवत्वकरण गर्नु पनि जरुरी छैन र सफलताबाट अत्तालिनु पनि जरुरत छैन । साधारण जनचासोको बिषय देखि लिएर अन्तर्रा्ष्ट्रिय चासोको रुपमा पनि हेरिएको वान बेल्ड वान रोड ‘ओबोर’मा हस्ताक्षर हुनु प्रशंसनिय काम हो । आम नागरिकले यो सत्य स्विकार्दिए मात्र पुग्छ ।
यहि लिगेसीको आडमा रेणु दाहालले मेयर पदमा उम्मेदवारी दिएर कहिँ गल्ती गरेकी छैनन् । उनी हार्नुपर्छ या जित्नुपर्छ भन्ने दुबै दलीलहरुमा दम हुन सक्छ । शत्रुलाई पनि बिजयको शुभकामना दिने नेपाली संस्कृतिमा हुर्किएका हामी, आजकल ‘रेणुले हारिन भने खसी काट्छु’ भनेर कुन दिमागले बोल्दैछौं ? आफैंलाई प्रश्न गर्नुपर्ने अवस्था होइन र ?
लेखक : र्इश्वर अर्याल