प्रदीप गिरीले संसद मै खुलेर प्रचण्डले प्रशंसा गरे

काठमाडौं १४ जेठ–नेपाली कांग्रेसभित्र बौद्धिक नेताको छवी बनाएका नेता प्रदीप गिरीले आइतवार संसद्मा गरेको सम्वोधन चर्चाको बिषय बन्न पुग्यो ।
सरकारका नीति तथा कार्यक्रम माथि बोल्न संसद्को रोष्टममा उभिएका गिरीले नीति तथा कार्यक्रम भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘गतिशील’ नेता भनेर प्रशंसा गरे । प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको मधेश समस्या नीति सही भएको जिकीर गरे ।
संसद् भवनमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा बसिरहेका प्रचण्डले गिरीको भाषण सुनिरहेका रहेछन् । ‘म आउँदा आउँदै प्रदीप गिरीले बोल्दै गरेको सुने, म उहाँलाई विशेष रुपले धन्यवाद दिन चाहान्छु, ठीकै रुपले मूल्याकन गर्नुभएछ’ सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नका जवाफ दिन संसदको रोष्टममा उभिएका प्रचण्डले भने ।
के भनेका थिए गिरीले ?
कांग्रेस नेता गिरीले माओवादीले सशस्त्र संघर्ष थाल्दाको समयका केही कुरा कोट्टाउदै अहिले मधेश समस्याको बिषयमा प्रतिपक्षी दल नेकपा एमालेले लिएको निषेधको राजनीतिले समस्या समाधान नगर्ने बताए ।
‘२०४८ सालमा कृष्णबहादुर महरा लगायत केही साथीहरु संयुक्त जनमोर्चाको प्रतिनिधित्व गर्दै संसदमा हुनुहुनथ्यो’ गिरीले माओवादी आन्दोलनप्रति कांग्रेस सरकारले लिएको गलत नीति भएको व्याख्या गर्दै भने, ‘औलामा गन्न सकिने सदस्य भएका व्यक्तीका मागलाई सरकारले गम्भीरता पूर्वक लिएर संविधान संशोधन गर्दै प्रजातन्त्रको परिभाषाको दायरा पराकिलो गर्न सकेको भए यति लामो रक्तपात र क्षती हुने थिएन ।’
मधेशको मागलाई उपेक्षा गरिए माओवादीको भन्दा खतरनाक समस्या आउने गिरीले दावी गरे । नेता गिरीले माओवादीले त्यतिवेला सरकारसँग राखेको वार्तामा अत्यन्त सहज शर्त राख्दापनि कांग्रेस सरकारले वास्ता नगरेका कारण देशले ठूलो क्षती व्यहोर्नु परेको बताए ।
तत्कालिन बिद्रोही माओवादीका नेता कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी र अग्नी सापकोटासँगको वार्ताको प्रसंग गिरीले संसदमा सुनाए । ‘माओवादीका शर्तहरु यति साधारण थिए, कमसेकम युवराज छान्ने प्रक्रिया संसदमा आओस । कांग्रेस सरकारमा थियो, तर त्यती साधारण कुरापनि हामीले गर्न सकेनौ’ उनले भने ।
यो प्रसंगमार्फत गिरीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद्मा गरेको सम्वोधनको कुरा कोट्टाए । ‘हिजो पूर्वसभामुखज्युले सम्झौताको कुरा उठाउनु भयो । वकालत गरेर भन्नुभयो–प्रतिपक्षलाई उपेक्षा गरेर किन संशोधन गरिदैछ ?’ गिरिले भने, ‘यदी प्रतिपक्षलाई विश्वासमा नलिएको हो भने भने सरकारले माफी मागे हुन्छ ।
प्रतिपक्षलाई समेत विश्वासमा लिएर तदारुकतासाथ मधेशको समस्या समाधान गर्नु पर्छ । गरिएन भने मधेश समस्या माओवादीलाई उपेक्षा गरेको भन्दा ठूलो खतरा हुनेछ ।’
माओवादीको बढ्दो शक्तिलाई बारंबार उपेक्षा गरेका कारण फिलिंगोबाट डढेलो बन्न गएको उल्लेखगर्दै गिरीले मधेश समस्याको समाधान गर्न गम्भीर बन्नुपर्ने बताए । उनले संविधान बनाएको जस लिने र प्रधानमनत्री हतारोका कारण मधेशलाई उपेक्षा गरेर संविधान घोषणा गरिएको दावी गरे ।
राजनीतिक अभिष्ट पूरा गर्ने नाममा एउटा राष्ट्रवादको परिभाषा गरेर, संकृण राष्ट्रवादको कुरा गरेर मुलुकको एकतिहाइ जनसंख्यालाइ उपेक्षा गरेर गरिएको सम्झौताले निकाश नदिने उनले बताए ।
गिरीले मधेश समस्याको समाधान संविधान र कानूनी कुरा गरेर निस्कन नसक्ने बताए । सनदले अल्पमतको कुरा सुन्न छाडेका कारण अहिलेको संसद बिटुलिएको समेत जिकीर गरे । ‘कानूनका बुदा धेरै केलाउन सकिन्छ, तर मधेश र मधेसका जनप्रतिनिधिलाई सामेल गरेमात्र संविधान कार्यान्वयन हुन्छ, रकमी कुरा गरेर, वकालती कुरा गरेर र टाउको गनेर संविधान कार्यान्वयन हुदैन’ गिरीले भने ।
गिरीले प्रक्रियाको कुरा तत्कालिन नेकपा एमालेको नेतृत्वले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने समयमा दिएको अभिव्यक्ती स्मरण गरे ।
‘एकाएक अनेकौ धारा परिवर्तन गरेर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कुरा भयो, मैले यो गलत हुदैछ भनेर विरोध गरे । भोलिपल्ट एमालेका नेताको पनि वक्तव्यको आयो’ चारबर्ष अघिको घटना सम्झदै गिरीले भने, ‘दुइ दिनमा उहा नै आएर म विरामी थिए, मुखवाट खानेकुरा नाकबाट खानुपर्यो भनेर भन्नुभयो । कहिलेकाही गर्नु नहुने कुरा पनि गर्नुपर्दो रहेछ भनेर उहाँले अन्तवार्तामा भन्नुभयो । याद दिलाउन चाहन्छु, यसअघिका प्रक्रिया गलत भएका छन । अहिले प्रक्रियाको कुरा गर्दा नाकबाट खाएको उदाहरण सम्झनुस । मनुस्यका शरीरमा नाक र मुखबाहेक नवद्वार हुन्छन, अहिलेका प्रक्रिया नाक र मुख भन्दा पनि फोहोर द्वारबाट भएका छन् । प्रक्रिया त्यसैगरी नै मिचिन्छ ।’ कसैले चित्त दुखाएको भए माफी चाहान्छु भनेर गिरीले सम्वोधन सकाए ।
प्रचण्डले गिरिले आफ्नोवारे गरेको मूल्याङन सही भएको उल्लेखगर्दै भने, ‘अरुले जस्तो निरंतरतामा एउटा थप्ने र घटाउने काम मबाट हुदैन । राष्ट्र र जनताको हितमा गुणात्मक काम गर्ने हो । निरन्तरतामा क्रममंग गर्ने नीति । त्यसद्वारा दीक्षित छु, त्यसैरी नै देश र जताको सेवा गर्छु । त्यसरी नसोचेको भए आज चुनाव हुदैनथ्यो ।’