राष्ट्र हाँक्ने ‘टप’ तीन महिलाको लुकामारी : संयोग कि नियोजित ?
काठमाडौं – नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति भइन् भने युद्धको कमाण्डर महिला नेतृ ओनसरी घर्ती सभामुख बनिन् । राष्ट्रप्रमुखदेखि सभामुख मात्र नभइ न्ययपालिकाको प्रमुखसमेत महिला भएको भन्दै गणतन्त्रको उपहारको रुपमा लिने गरिएको छ ।
राज्यबाट पछाडि पारिएका महिलाहरु राज्यको उच्च स्थानमा पुगेको हरेक प्रधानमन्त्री मन्त्रीदेखि आम नागरिकले समेत सलाम गरे, गरिरहेका छन् । तर ती तीनै महिला पछिल्लो समय एक आपसमा बोलीचाली बन्द जस्तै भएको छ भने औपचारिक कार्यक्रममा समेत सितिमिति एक ठाउँमा देखिदैनन् ।
प्रधानन्यायाधीसविरुद्धको महाभियोग प्रस्ताव ब्यवस्थापिका संसदमा दर्ता भएपछि राष्ट्र हाँकेका तीन महिला नेतृबीचको दूरी बढेको हो । राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीस सुशीला कार्कीबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ भने प्रधानन्यायाधीस कार्की र सभामुख ओनसरी घर्तीको सम्बन्ध पनि आम नागरिकले नै थाहा पाउने गरी टाढिएको छ ।
औपचारिक कार्यक्रममा तीन महिला आपसमा भेट हुने भएपछि आपसमा ‘लुकामारी’ खेल्ने गरेका छन् । उनीहरु एक आपसमा भेट्न नचाहेकै कारण एउटै कार्यक्रममा अनुपस्थित हुने गरेका छन् ।
विहीबार ललितपुरको जावलाखेलमा रातो मस्त्येन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानन्याधीस आउने भएपछि सभामुख घर्ती अनुपस्थित रहिन् । राष्ट्रपतिले भोटो जात्रा अवलोकन गरेर फर्किएपछि प्रधानन्यायाधीस कार्की जावलाखेल पुगिन् भने सभामुख ओनसरी घर्ती भोटो जात्रामै उपस्थित भइनन् ।
राष्ट्रपति भण्डारीले विहीबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी भोटो जात्राको अवलोकन गर्न जावलाखेल आएकी थिइन् । प्रधानन्यायाधीस कार्कीसँगको भेट टार्न सभामुख घर्तीले सरकारको नीति कार्यक्रमपछि पुनः संसद बैठक बोलाएकी थिइन् । तर सभामुख घर्ती नीति तथा कार्यक्रम सकेर अन्य बैठक भएकैले भोटो जात्रामा नभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।
गत सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्नेतको सपथ समारोह छल्न प्रधानन्यायाधीस कार्की विरामी भएको भन्दै बिदामा बसेकी थिइन् । कार्कीविरुद्ध ब्यवस्थापिका संसदमा महाभियोग दर्ता गरिएकोमा सर्वोच्चले रोकेपछि घर्ती कार्कीसँग रुष्ट छिन् ।
यता, प्रधानन्यायाधीस कार्कीविरुद्ध महाभियोग दर्ता भई निलम्बनमा परेपछि गोपाल पराजुलीले कार्यबाहक प्रधानन्यायाधीश सम्हालेका बेला संवैधानिक परिषद्द्वारा दीप बस्नेत र टंकमणि शर्माको नियुक्तिको सिफारिस गरेपछि कार्की रुष्ट बनेकी छन् । सोही असहमतिका कारण अख्तियार प्रमुखको सपथ कार्यक्रम छल्न कार्की एक दिन विदामा बसेकी थिइन् ।
आम नागरिकले मात्र होइन, विश्वकै नजरमा परेका यी तीन महिला नेतृहरु मुलकको राजनीतिक घटनाक्रमका कारण भएको लुकामारीलाई संयोग मात्र नभइ नियोजित भएको जानकारहरु बताउँछन् । @ रातोपाटि |