म्यानचेष्टर हमलामा मारिनेको संख्या २२ पुग्यो

ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।ग्रेट म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले दिएको जानकारी अनुसार उक्त घटना म्यानचेष्टरमा अहिलेसम्म भएको सबैभन्दा भयानक हो।म्यानचेस्टरमा सुरक्षाका लागि ४०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।हपकिन्सले उक्त घटनालाई आतंकवादी हमला मानेर छानविन अघि बढाइएको जानकारी दिए।
उनले एक जना व्यक्तिले सो हमला गराएको विश्वास प्रहरीको रहेको बताएका छन्।हमलाकारी स्वयंले बम विस्फोटन गराएको र आफूपनि घटनास्थलमै मारिएको हुनसक्ने उनको भनाइ छ।प्रहरीले हमलाकारी एक्लै रहेको वा उसलाई अरु कसैले साथ दिए नदिएको भन्ने पत्ता लगाउने कोशिश गरिरहेको बताएको छ।
यसैबिच म्यानचेष्टर विस्फोटका बारेमा छलफल गर्न ब्रिटेन सरकारको सबैभन्दा उच्च सुरक्षा समिति कोब्राको बैठक केही बेरमा बस्दैछ।
ब्रिटेनकी गृहमन्त्री एम्बर रडले उक्त बर्बरतापूर्ण आक्रमणमा जानाजानी युवाहरुलाई निशाना बनाइएको बताइन्।म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।उक्त हमलापछि उनले आफ्नो साङ्गीतिक विश्व यात्रा स्थगित गरेकी छन् र घटनाप्रति दु:ख व्यक्त गरेकी छन्।
यदी आतंकवादी हमला पुष्टी भए, म्यानचेष्टरमा गरिएको आक्रमण सन् २००५ मा ५० जना भन्दा बढीको ज्यान जाने गरी लन्डनमा गरिएको आक्रमण यताकै सबैभन्दा खराब हमला हुनेछ।
म्यानचेष्टर विस्फोटनपश्चात दुई हप्ता भन्दा केहि पछि हुन लागेको आम चुनावका लागि भइरहेका अभियानहरुलाई ब्रिटेनका सबै दलहरुले स्थगित गरेका छन्।