पहिलो पटक वडा अध्यक्षमा चेपाङ निर्वाचित

जेष्ठ ४, २०७४- स्थानीय निर्वाचनमा पहिलो पटक धादिङको गजुरी गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफनो वडामा मोटर चल्न सक्ने सडक निर्माण र चेपाङ्ग बालबालिकाहरुको शिक्षासँगै भूकम्पपीडित चेपाङ्गहरुको उत्थानको लागि आफू काम गर्ने बताए । ‘भूकम्पपछि गाउँबस्तीमा पानी छैन । गाउँ जाने बाटोको नक्सामात्रै छ । बाटो बन्ने आशामा धेरै पटक भोट हाले पनि यहाँका चेपाङले आश्वासनभन्दा केही पाएनन् । ‘अब स्थानीय जनप्रतिनिधि आयो । अब आफनो पुरै गाउँलाई विकास गरी सुखी र खुसी बनाउन हरदम लाग्नेछु’, चेपाङले भने ।
नेपाल चेपाङ्ग संघ, केन्द्रीय कार्यसमितिले विजयी चेपाङ्गलाई बधाई तथा शुभकामना दिएको छ । @ इकान्तिपुर |