आज किराँत समुदायमा साकेला पर्व मनाईंदै

वैशाख २७ – किराँत समुदायको महान पर्व साकेला उभौली सुरू भएको छ । पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ साकेला मनाईंदैछ ।
साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुईपटक मनाईंन्छ । अहिले किराँत बसोबास रहेको प्रतेक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ ।
किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्’ भन्ने कामनामा पितृ तथा भूमिको पूजाआजा गरी साकेला पर्व मनाउने प्रचलन रहिआएको छ । साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।
यसैबीच खोटाङका राईहरुले बुधबार सदरमुकाम दिक्तेलको मझुवागढी, रुपाकोट, जन्तेढुङ्गा, छोङ्खा, बुईपा, हलेसी लगायतका धार्मिक तथा ऐतिहासिक स्थलमा साकेला गीत गाउदै र नाच्दै साकेला मनाउँदै छन् । किरात राई यायोक्खाको कार्यालयमा विधिवत पूजाआजापछि साकेला नाच्न सुरु गरिन्छ ।