नौ वर्षीया बालिकासँग विवाह गर्न लागेका २५ वर्षे बेहुला पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकासँग विवाह गर्न लागेका २५ वर्षका युवकलाई पक्राउ गरेको छ । कलैया–१३ छोटकी फुलबरिया (साविक बलिरामपुर गाविस– ९) का २५ वर्षीय रामनरेश यादव विवाह मण्डपबाटै पक्राउ परेका हुन् ।
यादवलाई बाराको सुवर्णपुर–२ कबहीगोठकी ९ वर्षीया बालिकासँग विवाहगर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
प्रहरी विवाहस्थलमा पुग्दा केटा र केटी पक्षका अभिभावक, पण्डित, लमी लगायत सबैजना भागेको प्रहरीले जनाएको छ ।
१० दिन अगाडिमात्र विवाहको कुरा छिनिएकोे र गोप्य रुपमा विवाहगर्न लागेको खबर पाएपछि प्रहरीले बेहुला यादवलाई १६ वैशाखमा पक्राउ गरेको थियो ।
यादवविरुद्ध मुलकी ऐन विवाहवारी महल २ नं को कसुर अनुसार अनुसन्धान भईरहेको बाराका प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
दाईजो रु १० हजार र एउटा हिरो साइकल दिने सहमतीमा अहिले विवाहगर्ने र पाँच वर्षपछि गौना गर्ने तय भएर विवाह हुन लागेको केटी पक्षकी हजुरआमाले बताइन् ।
उनले भनिन् “हामी गरिब छौँ र केटा कमाउने र राम्रो घरबार भएको भनेर केटीकी नाना (मावली हजुरबुवा) ले विवाहगर्न जोड दिएकाले विवाह गरिदिन लागेका हौं ।”
केटी पक्षले पनि गल्ती स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । @ हिमालखबर |