महाअभियोगको सामना गर्छु : सुशीला कार्की

वैशाख १८, २०७४- महाअभियोगका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् । महाअभियोगका क्रममा पेस भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाइन् ।
‘उहाँहरू यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्वसंकेत पाएकी थिएँ,’ कार्कीले कान्तिपुरलाई भनिन्, ‘यसबारे संकेत दिन मसँग केही नेताले पटक–पटक भेट्न खोज्नुभएको रहेछ, तर भेट्नु उचित ठानिनँ ।’ कार्कीले आफूसँग माओवादी केन्द्रका नेता वर्षमान पुनले पटक–पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताइन् ।
केही मुद्दाको निरन्तर सुनुवाइका कारण धपेडी र तनाव बेहोरेको भन्दै उनले सुडान मुद्दा किनारा लगाएपछि अरू छिटफुट मुद्दा टुंग्याएर आराम गर्ने योजना पहिल्यै बनाएको बताइन् । सर्वोच्च अदालत स्रोतका अनुसार उनी फेवातालको सरकारी जग्गा अतिक्रमण र त्यसमा भूमाफियाको चलखेल जोडिएको मुद्दा किनारा लगाउन प्राथमिकता दिने योजनामा थिइन् ।
एक महिना बाँकी छँदै प्रशासनिक काममा सीमित रहेर आराम गर्ने आफ्नो योजना बीचैमा टुंगिएको भन्दै उनले छोटो अवधि बाँकी रहेको अवस्थामा दर्ता भएको महाअभियोगप्रति आफ्नो कुनै गुनासो नभएको प्रतिक्रिया दिइन् । ‘मैले सक्रियतापूर्वक काम गर्ने दुई साताको अवधि पनि थिएन,’ कार्कीले भनिन्, ‘जति काम गरें, इमानदारीपूर्वक गरें भन्ने लागेको छ । बाँकी मूल्यांकन गर्ने जिम्मेवारी समाजको हो ।’
मध्यरातसम्म बसेर मुद्दाको पेसी व्यवस्थापनका काम गर्ने गरेकी उनले आइतबारदेखि जिम्मेवारीमुक्त भएकामा आफ्नो कुनै गुनासो नभएको दोहोर्याइन् । आफूले सकेजति काम गरेको भन्दै उनले महाअभियोगको समाचार थाहा पाएर सान्त्वना दिन आएका केही न्यायाधीशलाई हाँसेर चिन्ता नलिन भन्दै उल्टै सान्त्वना दिएकी थिइन् ।
नेपालको राजनीतिक नेतृत्वले न्यायपालिकाको गरिमा र मर्म बुझ्न नसकेको टिप्पणी गर्दै उनले न्यायाधीशको नेतृत्व कुनै पनि दबाब र प्रभावमा पर्न नहुने मान्यतालाई आफूले पालना गरेको बताइन् । ‘अब त ममाथि मुद्दा लाग्यो, संसद्मा विचाराधीन मुद्दाको म प्रतिवादी हुँ,’ उनले भनिन्, ‘मैले जे भन्नुपर्ने हो, त्यहीँ आफ्नो कुरा राख्छु । अहिले धेरै नबोलौं होला ।’
निलम्बित प्रधानन्यायाधीश कार्की सोमबारै बालुवाटारस्थित सरकारी निवासबाट धापासीस्थित निर्माणाधीन घरमा सरेकी छन् । तर निर्माणको काम बाँकी रहेकाले उनी केही दिन बालुवाटार र धापासी ओहोरदोहोर गर्नेछिन् । @इकान्तिपुर |