प्रचण्ड र ओली बीच चर्काचर्की

काठमाडौं, १३ वैशाख– सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेपछि एमालेले संसदमा गरिरहेको अवरोध खुलाउने विषयमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ता नलिए संसदको अवरोध नखुल्ने अडान लिएपछि प्रधानमन्त्ती प्रचण्ड आक्रोशित बनेका थिए ।
सरकार र मधेसी मोर्चाबीच भएको ‘अलिखित’ ३ बुँदे सम्झौता कार्यान्वयना लागि सरकारले तराईका जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको थियो । जसको विरोधमा एमालेले मंगलबारदेखि संसद अवरोध गर्दै आएको छ । एमालेले बुधबारपनि संसद अवरोध गरेपछि सभामुख ओनसरी घर्तीको पहलमा बुधबार दिउँसो प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।
तर, दुई नेताबीचको छलफल सकरात्मक हुन नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटमा ओलीले संविधान संशोधन बिधेयक राष्ट्रहित विपरत भएकाले कुनै हालतमा पारित हुन नदिने बताएका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले एमाले विना पनि दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गर्ने बताएका थिए ।
उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा पनि सहभागी थिए । देउवा र थापाको अगाडि नै दुवै नेताबीच चर्काचर्की भएको थियो ।