मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या तय

काठमाडौँ । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार मतदानस्थलको सङ्ख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ ।
आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ ।
यसैबीच, आयोगले मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुनासमेत वेवसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले छ आकारको मतपत्र छपाइ गरेको छ ।
मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसङ्ख्या अनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् । मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।
यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने छ हजार ६८० वडाबाट एक–एक जना दलित महिला पनि चुनिनेछन् । स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ ।
जिल्लागत मतदान स्थल र केन्द्रसम्बन्धी पूर्ण विवरण यसप्रकार छ :