श्रीमानले विदेशबाट पठाएको सात लाख लिएर अर्कैसँग हिँडेपछि तीन बालबच्चा बिचल्लीमा

जुम्ला: जुम्लाकी एक महिलाले श्रीमानले विदेशबाट पठाएको सात लाख रुपैयाँ साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन्। उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुर्ज्या बुढा हुन्।
बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन्। केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी हुँ भनेपछि विवाह गरेको हालका श्रीमान रावत पक्षका कृष्णबहादुर रावतले बताए।
दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुर्ज्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर सात लाख ८३ हजार रुपैयाँ पठाएका थिए। तर, नगद कुनै नराखेर अर्कैसंग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्तबहादुर बुढाले बताए।
पीडित विष्णुबहादुर बुढा हाल कतारमा छन्, उनी नेपाल आउन अझै ६ महिना बाँकी रहेको आफन्त भक्तबहादुर बताउँछन्। अहिले सुर्ज्या बुढा र मीनबहादुर रावत दुवैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ। पीडित पक्षधरले बुढाले हालसम्म बालबच्चा पालेको, घरमा बस्दा विविध क्षेत्रमा खर्च भएको रु तीन लाख छुटृाएर चार लाख ८३ हजार रुपैयाँ नगद फर्काउन माग गरेका छन् । रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । @ रासस