डा. भट्टराई र मिश्र : दुई ‘नयाँ शक्ति’मा कुन बलियो ?

काठमाडौं, फागुन १८ । संविधान निर्माणसँगै डा. बाबुराम भट्टराईले ‘अबको निकास आर्थिक विकास’ भन्दै राजनीतिको नयाँ अध्याय थाले । तीन दशक लामो माओवादी यात्रा ०७२ असाेजमा टुंग्याउँदै नयाँ राजनीतिक ‘च्याप्टर’ मा छिरे उनी ।
त्यस क्रममा डा. भट्टराईले लोकप्रिय ब्यक्तिहरुसँग निरन्तर छलफल र अन्तरक्रिया गरेका थिए । त्यतिवेला पत्रकार रवीन्द्र मिश्र पनि भट्टराईसँगै नयाँ शक्ति गठनको प्रक्रियामा सक्रीय थिए । त्यसो त मिश्रले पनि राजनीतिमा सदाचार र इमान्दारिता खड्केको भन्दै विभिन्न मञ्च र साेसल मिडियामा तीताे अाेकल्दै अाएका थिए । त्यति मात्रै केही समय यता मिश्र नयाँ खालका गतिविधमा पनि सहभागी हुँदै अाएका थिए ।
पछिल्लाे समय भारतमा उदाएको आम आदमी पार्टीकै सिको गरी डा. भट्टराई र मिश्रको ‘एक्टिभिजम’ टिकेको थियो । विभिन्न कारणले मिश्र भट्टराईसँग मिल्न सकेनन् । नयाँ शक्ति पार्टी गठन भएको डेढ बर्षपछि रवीन्द्र मिश्रले पनि उस्तै ‘नयाँ शक्ति’ गठनको तयारी गरे ।
कुनै बेला एउटै ‘एक्टिभिजम’ मा जोडिएका डा. भट्टराई र मिश्र अहिले प्रतिष्पर्धीको रुपमा देखिएका छन् । त्यसो त यो लामो शिलशिलामा सुरुदेखि नै सक्रिय बनेका मुमाराम खनाल रवीन्द्र मिश्रसँग जोडिन पुगे । बाबुराम संयाेजक रहेकाे नयाँ शक्तिकाे स्वाद भने मुमारामले चाख्न भ्याइसकेका छन् । गत पुसकाे अन्तिममा खनालले बाबुराम नेतृत्वकाे नयाँ शक्ति छाडेका थिए ।
अन्ततः भट्टराईले जुन लक्षित समुहमा आफ्नो राजनीतिक भविष्य खोजेका थिए मिश्रले पनि त्यही लक्षित समुह बनाएका छन् । मिश्रले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्, बिदेशमा रहेका र सम्भावनाको खोजी गर्ने प्रतिभाशाली, बौद्धिक ब्यक्तिहरु मिश्रको पार्टीको लक्षित समुह हुने पक्का छ । जुन कुरा डा. भट्टराईले पहिलेदेखि नै उल्लेख गर्दैआएका छन् ।
यसरी सहरीया मध्यम बर्गीय समुह यी दुबै पार्टीको ‘बेस’ बन्नेछ । यही सन्दर्भमा नयाँ शक्तिका नेता देवेन्द्र पौडेलसँग ‘रवीन्द्र मिश्रको पार्टीले तपाईँहरुलाई त दवाव भयो नी ?’ भनी सोध्दा उनले भने, ‘सामाजिक संजालमा चर्चा भएको छ । यथार्थ र बास्तविकता फरक हुन्छ । तै पनि रवीन्द्रजीलाई म शुभकामना नै दिन्छु ।’ पौडेलले प्रारम्भिक चरणमा आफूहरुबीच छलफल भएको बताएका छन् ।
कमजोर बन्दै डा. भट्टराई
पछिल्लो समय नयाँ शक्ति पार्टीभित्र असन्तुष्टि चुलिँदै गर्दा त्यहाँका नेता रामेश्वर खनालसहित प्रभावशाली ब्यक्तिहरु रवीन्द्र मिश्रले गठन गर्ने भनिएको नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा छन् ।
नयाँ शक्तिको ठूलो समुह रवीन्द्र मिश्रको ‘नयाँ शक्ति’ मा जान विभिन्न भेटघाट र छलफल तिब्र पारेका छन् । त्यसो त रामेश्वर खनाल पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा पनि सक्रिय भूमिकामा थिएनन् ।
नयाँ शक्तिका नेता देवेन्द्र पौडेलका अनुसार रामेश्वर खनाल सल्लाहकारको रुपमा मात्रै सिमित थिए । डा. भट्टराईले रामचन्द्र झालगायत नेताहरुलाई अघि सारेपछि नै खनाल पार्टीमा निस्क्रिय बन्न थालेका हुन् । पछिल्लो समय उपेन्द्र यादवसहित मधेसी मोर्चासँग कार्यगत एकता गर्ने भट्टराईको उद्घोषपछि भने नयाँ शक्तिका धेरैजसो नेताहरु असन्तुष्ट बनेका हुन् ।
डा. भट्टराई उपेन्द्र यादवसँग नजिकिनु नै खनाल सहितका नेताहरुलाई पार्टी छोड्ने बहाना बनेको हो । स्रोतका अनुसार उनै खनालको नेतृत्वमा एउटा समुह नै रवीन्द्र मिश्रले गठन गर्ने भनिएको नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । यस विषयमा नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले भने, ‘जोसुकैलाई पनि स्वतन्त्रता छ । खनालजी वा कोही अन्य पार्टीमा जाने कुराले हामीलाई असर पर्दैन ।’
अपरिपक्व मिश्र !
जतिसुकै चर्चित भए पनि संगठन निर्माण र राजनीतिक निर्णयमा भने मिश्र अति नै अपरिपक्व मानिन्छन । सामाजिक बहस र अन्तरक्रियामा पनि उनले दिने टिप्प्णीहरु अति नै सतही र ‘पपुलिष्ट’ हुन्छन् । सैद्धान्तिक जरोसम्म पुग्न उनलाई मुस्किल हुन्छ । सैद्धान्तिक बैचारिक बहसमा डा. भट्टराई जति पोख्त र अध्ययनशिल छन् मिश्रमा त्यो पक्ष कमजोर छ ।
त्यस्तै, भट्टराईसँग लामो राजनीतिक पृष्ठभूमि छ । आर्थिक, सामाजिक, सांस्कृतिक, परराष्ट्र लगायत बैचारिक बहसमा भट्टराई जति खरो उत्रिन सक्छन् मिश्रसँग उति बैचारिक गाम्भिर्यताको कमी छ । रिसर्च गरेर प्रश्न सोध्न, जिज्ञाशा राख्न सक्छन् तर, सैद्धान्तिक समझको कमी भने मिश्रमा छ ।
त्यसो त काठमाडौंका धनाढ्य मिश्रलाई ‘एलिट’ र ‘आदर्शवादी’ को आरोप लाग्ने गर्छ । सामाजिक संजालमा उनीमाथि ‘रिटायर्ड लाईफ’ को सदुपयोग गर्न खोजेको आरोप लागिसकेकाे छ ।
उद्धेश्य एउटै
‘ग्लोबल मिडिया’ को २० बर्षे पत्रकारितामार्फत चर्चा कमाएका मिश्रले पार्टी गठन गर्ने भनेपछि नै सहरका प्रभावशाली पत्रकारहरुले खुलेरै सुभकामना दिएका छन् ।
कतिपय पत्रकारहरुलाई त मिश्र आफैँले फोन गरी ‘कन्भिन्स’ गर्ने प्रयास गरे । पछिल्लो यस्तो गतिविधिले पनि केही प्रभावशाली ब्यक्ति र पत्रकारहरु उनको पार्टीमा जाने संकेत मिलेको छ । त्यसो त, डा. भट्टराई ‘टेस्टेड’ नेता हुन् भने मिश्र राजनीतिमा ‘अनटेस्टेड’ । यही कारण पनि सहरीया मध्यम बर्गीय युवाहरु मिश्रसँग आकर्षिकत हुने संकेत सामाजिक संजालमा उनको गतिविधिले पनि देखायो ।