स्थानीय तहको निर्बाचन घोषणा प्रक्रियागत हिसावले गलत – तामाङ घेदुङ

याम्बु , १४ फागुन । नेपाल तामाङ घेदुङले समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्दै आज सचिवालय बैठक सम्पन्न गरेको छ ।घेदुङ अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा सम्पन्न बैठकले गत माघ माघ महिनामा सञ्चालित सोनाम ल्होछार २८५३ ज्या, नामे ल्हो मूल समारोह समितिले सञ्चालन गरेको ल्होछार कार्यक्रमको समिक्षा गरेको छ । बैठकबाट ल्होछार कार्यक्रम भब्यताका साथ सम्पन्न भएको भन्दै सबै संघ÷संस्था, प्रायोजक, ब्यवस्थापन सहयोगी, उपसमितिहरु र मिडिया पार्टनरहरुलाई एकमुष्ट रुपमा धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी बैठकले सरकारले घोषणा गरेको स्थानीय तहको निर्बाचन प्रक्रियागत हिसावले गलत भएको निष्कर्ष निकालेको छ । घेदुङले ताम्सालिङ प्रदेशको सुनिश्चितता, तामाङ जनताको प्रतिनिधित्वको ग्यारेन्टी, स्थानीय तह पुनसंरचनामा स्वायत्त÷संरक्षित÷विशेष क्षेत्रको स्पष्ट ब्यवस्था गरेर मात्र निर्बाचन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । माथिका माग र मुद्दाहरुलाई सम्बोधन गर्नको लागि तत्काल निर्बाचन स्थगन गर्न सरकारसँग माग गरेको छ । अन्यथा आन्दोलनमा जाने घेदुङले जनाएको छ ।
यसैगरी नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद् सदस्यमा सचिव रामकृष्ण ब्लोन तामाङ र केन्द्रीय सदस्य पासाङ डोल्मु तामाङलाई सिफारिस गरेको छ । घेदुङले तामाङ साँस्कृतिक भवन निर्माणको लागि यस अघि गठित जग्गा तथा भवन व्यवस्थापन समितिलाई तत्काल काम अघि बढाउन निर्देशन दिएको छ ।
तामाङ घेदुङको मातहतमा रहने गरी सहकारी संस्था आवश्यक रहेको ठहर गर्दै विभागीय प्रमूख कुयाङ लामालाई सहकारी दर्ता सम्बन्धि आवश्यक प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएको छ । आजिवन सदस्यता कोष सञ्चालनको लागि कोष सम्बन्धि अध्यक्ष गोलेद्धारा प्रस्तुत कार्यविधि सामान्य परिमार्जन सहित पारित भएको छ ।
यसैगरी नेपाल तामाङ घेदुङको गरिमामाथि आँच आउने गरी सामाजिक सञ्जाल (फेसबुक)मा जथाभावी भ्रामक शब्दहरु पोष्ट गर्नेलाई कारवाहीको लागि अनुशासन विभागमार्फत स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । चित्तबुझ्दो जवाफ नआए कारवाही गर्ने जनाएको छ । साथै संस्था विरोधी गतिविधि गर्ने एकजना सल्लाहकारलाई घेदुङले आजकै बैठकबाट बिदाई गरेको छ ।
यसको साथै बोन्बो, युवा, ताम्बा, महिला घेदुङको ६ महिना भित्र राष्ट्रिय भेला सम्पन्न गर्न पनि भातृ संगठनहरुलाई निर्देशन दिएको छ । @ तामाङघेदुङ डट ओआरजी