नयाँ शक्ति र थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच पार्टी एकता

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल र व्यवस्थापिका संसद् सदस्य गंगा चौधरी (सत्गौवा) नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच पार्टी एकता सम्पन्न भएको छ । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)को अध्यक्ष गंगा चौधरी लगायतको केन्द्रीय समिति नयाँ शक्ति पार्टी, नेपालमा समायोजित भएको हो ।
आज नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालय बबरमहलमा दुबै पार्टीको बैठक बसी पार्टी एकता गर्ने निर्णय भएको हो । आजै दुबै पार्टीको एकता भेला पनि सम्पन्न भएको छ । भेलाले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो । एकता भेलाले निर्वाचन आयोगमा दर्ता भएका दुबै पार्टीबीच एकता भई नयाँ शक्ति पार्टी, नेपालको विधान, पार्टीको झण्डा, प्रस्तावित चुनाव चिन्ह नै एकीकृत पार्टीको विधान, झण्डा र चुनाव चिन्ह हुने निर्णय गरेको छ । नयाँ शक्ति पार्टी, नेपालले सोको जानकारी निर्वाचन आयोग र संसद् सचिवालयलाई गराउनेछ ।
एकता भेलामा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले अब नयाँ शक्ति पार्टी, नेपालले केही कानुनी प्रक्रिया पूरा गरेपछि संसद प्रतिनिधित्व गर्ने जानकारी गराउनुभयो । गंगा चौधरीले आफूले अब नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट संसद्मा भूमिका खेल्ने बताउनुभयो । उहाँले आफूलाई सल्लाह सुझाव दिनका लागि नयाँ शक्तिका नेताहरुलाई आग्रह पनि गर्नुभयो ।
आजै जनमुक्ति पार्टीका उपाध्यक्ष राजवंशी चौधरीसहितको समूह पनि नयाँ शक्ति पार्टी, नेपालमा प्रवेश गरेको छ ।