सोनाम ल्होछारबाट आएको मुनाफ बिद्यालयलाई सहयोग गरिने

यूएर्इ – २८५३ औं सोनाम ल्होछारको अवसर पारेर ’तामाङ समाज युएई’ ले गर्न लागेको “झ्या ल्हो ल्होछार साँझ २०१७” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।
आफ्नो रितिथीति परम्परालाइ विदेशी भूमीमा रहेर पनि जगेर्ना गर्ने उद्देश्य स्वरुप तयार गरियको यस कार्यक्रममा भव्य र सव्य बनाउन नेपाली देखि अग्रज लोकगायक तथा कलाकार जयनन्द लामा र सभासद तिर्थ तामाङ युएई आइपुगि सक्नु भएको छ।
उहाँहरुको स्वागतको लागी आयोजकको तर्फबाट समाजका अध्यक्ष महेश मोक्तान, तृतीय उपाध्यक्ष तिर्थ लामा, अल ऐन समिति अध्यक्ष मणि कुमार लामा, काभ्रे सेवा समाजका नव नियुक्त अध्यक्ष दिल वाइबा, शेर्पा किदुंङ युएईका अध्यक्ष पासाङ शेर्पा लगायतका सदस्यहरु युएई स्थित शारजाह अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो।
युएईको दुबई स्थित स्विट इम्पेरियल होटलमा भोलि १० फेब्रुअरी शुक्रबार सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा सदाको वर्ष झैँ शुरूवातमा पनि लामा गुरु द्वारा पूजापाठ, पवित्र मन्त्रोच्चारण र आराधना गरिनेछ भने कार्यक्रमको अर्को चरणमा तामाङ संस्कृति र भेषभुषा सम्वर्द्धन सहितको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम रहने बताइएको छ।
आफ्नो स्थापना कालदेखि नै हरेक वर्ष सोनाम ल्होछार मनाउँदै आएको तामाङ समाज युएईले उक्त कार्यक्रमबाट मुनाफा भएको रकम नेपालको दुर्गम बस्तीका समस्यामा रहेका बिद्यालयलाई सहयोग गर्ने ’सपोर्ट माई स्कुल’ अभियानमा खर्चिने आयोजक कमिटिले जानकारी गराएको छ।