दलाई लामालाई नेपाल भ्रमण गराउने र चीनलाई चिढाउने प्रयास

काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामालाई भारत र पश्चिमा मुलुकहरूले कार्डको रुपमा चीनबिरुद्ध प्रयोग गर्दैआएका छन् । दलाई लामा कार्ड नेपालबाट समेत प्रयोग हुने सम्भावना बढेर गएको छ ।
भारत र पश्चिमा देशहरूको योजना अनुसार, दलाई लामालाई निकट भविष्यमा नेपाल भ्रमण गराउनका लागि प्रयासहरू भइरहेको खबर छ । जसलाई ‘हिमालयन प्लान’ नाम दिइएको स्रोतको दावी छ । सोही योजना अनुसार, हालै अमेरिका र भारतस्थित धर्मशालाको एउटा टोलीले नेपालको भ्रमण गरेर गइसकेको समाचार छ । समाचार स्रोतका अनुसार, दलाई लामालाई नेपालमा ल्याउने योजना बनाउनका लागि भारतीय जासुसी संस्थाका एकजना वरिष्ठ अधिकारी केही हप्तादेखि नेपालको बालुवाटार नजिक अड्डा जमाएर बसेको खबर छ ।
यसअघि २०७३ मंसिर पहिलो साता भएको दलाई लामाको मंगोलिया भ्रमणपछि चीन रुष्ट भएको थियो । लामाको भ्रमणले मंगोलिया–चीन सम्बन्धमै चिसोपन आएको थियो । भ्रमण रोक्न चीनले कडा चेतावनी दिएको भएपनि मंगोलियाले चीनको स्वशासित क्षेत्र तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामालाई मंगोलिया भ्रमणको अनुमति दिएपछि दुई देशबीचको सम्बन्ध तिक्त बन्न गएको छ । चीनको आपत्तिका बाबजुद दलाई लामाले मंगोलिया भ्रमण गरी बौद्ध धर्मगुरुहरूसँग भेट गरेका थिए । दलाई लामाको भ्रमण गराएपछि चीनले मंगोलियासँग जोडिएका सीमाचौकीहरू बन्द गराएको थियो । मंगोलियाले दलाई लामालाई कहिल्यै पनि आफ्नो देशको भ्रमण अनुमति नदिने प्रतिबद्धता जनाएपछिमात्र सीमा चौकीहरू चीनले खुला गरेको थियो ।
चीनलाई चिढ्याउनेगरी दलाई लामाको नेपाल भ्रमण गराए मंगोलियाको जस्तै सम्बन्धमा दरार आउन सक्ने कूटनीतिक क्षेत्रका विश्लेषकहरू बताउँछन् । नेपालमा हाल देखिएको राजनीतिक अस्थिरतामा दलाईको भ्रमणले थप आगोमा घ्यू थप्नेगरी लामाको नेपाल भ्रमण गराउने र नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने गोप्य योजना अन्तर्गत दलाईको नेपाल भ्रमणको तयारी भइरहेको स्रोतको दाबी छ, लामाको नेपाल भ्रमणले नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीहरूलाई भने निकै नै अप्ठेरो पार्ने अनुमान गरिदैछ | @ विक्लीनेपाल |